| मङ्लबार, कार्तिक २४, २०८३

शैक्षिक गुणस्तर वृद्धिमा ध्यान जाओस्

सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरमाथि सधै प्रश्न उठ्ने गरेको छ । एसईईको नतिजालाई नै आधार मान्ने हो भने जिल्लाका अधिकांश सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर ज्यादै न्यून देखिन्छ । अझ लज्जास्पद कुरा के छ भने निजी बिद्यालय सरह शैक्षिक गुणस्तर कायम गर्न सामुदायिक बिद्यालयहरुले कहिलै सकेनन् ।

शिक्षा क्षेत्रमा राज्यको ठुलै लगानी छ । भौतिक रुपले सम्पन्न मात्र छैनन् जिल्लाका बिद्यालयहरु आधुनिक उपकरणसँगै ल्यावको पहुँच पनि उत्तिकै छ । शिक्षकहरुका लागि आवश्यक तालिम पनि उपलब्ध भइरहेकै छ । तर पनि सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर किन खस्कदो छ ? यो सोचनिय बिषय बनेको छ । यसको उत्तर खोज्नु जरुरी छ ।

हुन त सामुदायिक बिद्यालयमा छाएको राजनीतिक छाया पनि एक कारण हो । बिद्यालय जस्तो संवेदनशिल क्षेत्रमा राजनीति प्रवेश गर्नु दुखद हो । प्रधानाध्यापकदेखि विद्यालय व्यवस्थापन समिति अध्यक्ष नियुक्तिमा हुने राजनीतिकरणले सिंगो बिद्यालयको शैक्षिण वातावरण धमिल्याउछ । हाम्रो भन्दा राम्रोलाई नेतृत्वको जिम्मेवारी दिएर बाहिरी हस्तक्षेप मात्र कम गर्न सकियो भने पनि सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्छ ।

शिक्षकहरुले आफूलाई समयानुकुल अद्यावधिक गर्दै लैजानुपर्छ । शिक्षक र बिद्यालय जति जिम्मेवार हुन्छन् अभिभावकको जिम्मेवारी पनि उत्तिकै हुन्छ जुन उनीहरुले पुरा गर्न सक्नुपर्छ । आफ्नो पालिकाभित्रका सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि ठोस् योजना र नीति पनि बनाउँदै कार्यान्वयनमा लैजानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्