
कारागार सुधारतर्फ पनि ध्यान केन्द्रित होस्
कारागारलाई सुधार गृहको दृष्टिकोणले हेर्न थालिएको आधा दशक बढी भइसक्यो । तर विडम्वना जिल्लाको कारागार भने यातनागृहभन्दा भन्दा फरक छैन । क्षमताभन्दा बढी कैदीवन्दी त्यसमाथि न्यूनतम मानवोचित भौतिक सुविधा अभाव प्रमुख समस्या हुन् ।
कैद भुक्तानका लागी बिभिन्न प्रकारका व्यक्तिहरु कारागार चलान भएका हुन्छन् । उमेरमा पनि भिन्नता हुन्छ । कारागारको वातावरण र भौतिक सुविधा अभावमा उनीहरु दिर्घरोगीसम्म हुन सक्छन् । त्यति मात्र होइन कारागारमा आउने कैदीवन्दीहरु बिभिन्न संक्रामक रोगका बिरामी समेत हुन सक्ने भएकाले एक अर्कामा रोग सर्न सक्ने जोखिम पनि उत्तिकै हुन्छ ।
शुद्ध खानेपानी अभावको समस्या पनि जिल्लाका कैदीवन्दीहरुले झैल्दै आएका छन् । कैदीवन्दीहरुले सहज रुपमा सजाय भुक्तान गर्न पाउनुपर्छ । भौतिक सुविधा मानवोचित स्तरको बनाउनुका साथै सुधारका बिभिन्न उपाय अपनाउनु आवश्यक देखिन्छ । कारागार सुधारका विभिन्न उपायमध्ये एउटा खुला कारागारको अवधारणा पनि हो ।
लामो समयसम्म थुनामा राख्नुपर्ने कैदीलाई राख्न खुला कारागार प्रणाली कार्यान्वयन गर्नसके मात्रै पनि कारागारमा क्षमताभन्दा बढी कैदीवन्दी राख्नुपर्ने बाध्यता हट्छ । यो दिर्घकालिन योजना भएपनि तत्कालका लागी हाल भइरहेको कारागार व्यवस्थापनमा केही सुधार गर्दै सहज रुपमा सजाय भुक्तान गर्ने वातावरण मिलाउन सकिए राम्रो हुने थियो ।




