| मङ्लबार, कार्तिक २४, २०८३

पालिकाको केन्द्र विवाद सुल्झाउ

राज्य पुनर्संरचनापछिको पहिलो स्थानीय तह चुनावबाट निर्वाचित जनप्रतिनिधीहरुको पाँच बर्षे कार्यकाल पूरा भइसक्यो । दोस्रो स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधीले पनि आफ्नो कार्यकालको तीन बर्ष कटाइसके । राज्य पुनर्संरचना भएको यतिका समय बितिसक्दा पनि जिल्लाका केही स्थानीय तह पालिकाको केन्द्र विवादकै साँघुरो घेरामा अल्झिरहेका छन् । केन्द्र विवादको प्रत्यक्ष असर पालिकाको हरेक गतिविधीमा देखिएको छ ।

बिशेष गरी गण्डकी र सिरानचोक गाउँपालिका केन्द्र विवादमा रोमलिएका छन् । राजनीतिक स्वार्थ नै विवादको प्रमुख कारण हो भन्दा फरक नपर्ला । दलहरु बिचको जुगाँको लडाइ र अस्वस्थ प्रतिस्पर्धाको प्रत्यक्ष प्रभाव यसमा देखिएको छ । बिशेष गरी कांग्रेस र माओवादी केन्द्र बीचको अस्वस्थ प्रतिस्पर्धा । गण्डकी गाउँपालिकाको केन्द्र विवादलाई नियाल्ने हो भने कांग्रेस र माओवादी बिचको जुगाँको लडाइ प्रष्ट देखिन्छ । एक अर्काले गरेका कामप्रति सन्तुष्ट नहुने र बिरोधमा मात्र उत्रने प्रवृति यस पालिकामा मात्र होइन अन्यत्र पनि देखिएको छ । यता सिरानचोक गाउँपालिकाको केन्द्र विवाद भने कांग्रेस भित्रकै आन्तरिक द्धन्द्धको प्रभाव हो ।

निर्वाचित जनप्रतिनिधीहरुले कहाँ केन्द्र निर्धारण गरे भन्ने कुरा भन्दापनि पालिकावासीका र सिँगै पालिकाको बिकासका लागी कस्ता योजना ल्याए अनि कत्तिको कार्यान्वयन गरे भन्ने कुरा महत्वपूर्ण हुन्छ । समग्र पालिकाको बिकासका लागी एक अर्काले खुट्टा तानातान गर्नुभन्दा पनि सवै दलहरु मिलेर एक्यवद्धता कायम गरी अघि बढ्न सके पालिकाले बिकासको फड्को अवश्य मार्ने छ । समग्र पालिकावासीलाई पायक पर्ने स्थानमा केन्द्र निर्धारण गरी एक अर्काबीच आवश्यक समन्वय र सहयोग गर्दै दलहरु अघि बढ्न सक्नु नै बुद्धिमता हुने छ ।

प्रतिक्रिया दिनुहोस्