
खाजा र खाना खर्च घटाऊ
महालेखा परीक्षकको कार्यालयले खाजा तथा खाना खर्च घटाउन गोरखाका पालिकाहरुलाई सुझाव दिएको छ । सरकारी बजेट बेपर्बाह रुपमा खाजा र खानामा खर्च गरेको भन्दै महालेखा परीक्षकले यस्तो खर्च कम गर्न सुझाएको हो । गोरखाका विभिन्न ६ वटा पालिकाहरुले सरकारी ढुकुटीबाट खाजा र खानामा अत्याधिक रकम खर्च गरेको महालेखाले जनाएको छ ।
महालेखाका अनुसार बारपाक सुलिकोट गाउँपालिकाले खाना खाजामा २३ लाख रुपैयाँ खर्च गरेको उल्लेख छ । त्यस्तै सिरानचोक गाउँपालिकाको सो शीर्षकमा २० लाख ७० हजार खर्च गरेको प्रतिवेदनमा भनिएको छ । भीमसेनथापा गाउँपालिकाले पनि खाना र खाजा शीर्षकमा १९ लाख ७८ हजार रुपैयाँ खर्च गरेको औंल्याइएको छ । आरुघाट गाउँपालिकाले १५ लाख ९७ हजार रुपैयाँ खाना र खाजामा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै गण्डकी गाउँपालिकाले पनि खाना र खाजामा मात्र १४ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ । पालुङटार नगरपालिकाले खाना र खाजामा मात्र १३ लाख रुपैयाँ खर्च गरेको छ । एकबर्षको अवधिमा यत्तिका रकम खाना, खाजामा मात्र खर्च गर्नु अत्याधिक भएको महालेखाको ठहर छ । नेपाल यसै गरिब मुलुक, थोरैथोरै बजेट तथा कार्यक्रमले बर्ष गुजार्नु पर्ने बाध्यता छ । तर भ्रमणमा, इन्धनमा, खाना, खाजामा, नाफामुलक संस्थालाई पनि अनुदान दिएर, आफ्नाहरुलाई विभिन्न शीर्षकमा अनुदान भनेर बजेट फजुल खर्च गरिएको छ ।
पालिका मात्र होइन, प्रदेश र नेपाल सरकार पनि बजेट खर्चमा मितव्ययी हुनुपर्छ । सीमित साधन र स्रोतमा काम गर्नुपर्ने पालिकाहरुले मनमौजी गर्नु सुहाउँदैन । पालिकाको आफ्नै अथाह आन्तरिक स्रोत छ भने जे, जसरी खर्च गरे पनि मनासिब छ । तर ऋण गरेर ल्याइएको बजेट दुरुपयोग गर्नुअघि सोच्नु जरुरी छ ।




