
बराम जातिको स्वायत्तता क्षेत्र सम्बन्धमा पैरवी
गोरखामा बराम जातिको स्वायत्तता क्षेत्र सम्बन्धमा बहश पैरवी गरिएको छ । नेपाल बराम संघको आयोजनामा आरुघाट गाउँपालिका वडा नं. ७ सादोबाटोमा पैरवी कार्यक्रम गरिएको हो । संविधानको धारा ५६ को उपधारा ५ मा स्वायत्तता क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको व्यवस्था गरेको छ ।
यस बिषयमा सर्वोच्च अदालतले पनि गोरखाको भिमसेन थापा, बारपाक सुलिकोट र आरुघाट गाउँपालिकालाई बराम स्वायत्तता क्षेत्र बनाउनका लागि परमादेश जारी गरिसकेको छ । बराम जातिको कुल जनसंख्यामध्य करिब ९० प्रतिशत गोरखामा बसोबास रहेको पाइन्छ ।
गोरखाको मसेल, ताकुकोट, थुमी लगायतका क्षेत्रलाई बराम जातिको आदिथलो पनि भन्ने गरिन्छ । यसै सन्दर्भमा पैरवी कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघका निवर्तमान अध्यक्ष जगत बरामले बराम जातिको चिनारी र वर्तमान अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै लाहुरनिपका सचिवालय सदस्य दुर्गा पमफुले बराम स्वायत्तता र सुशासनबारे जानकारी गराएका थिए । प्रस्तुत गरिएका कार्यपत्रमाथि रहेर छलफल समेत गरिएको थियो । नेपाल बराम संघकी अध्यक्ष भद्र कुमारी बरामको अध्यक्षता तथा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्ट, बराम संघका संस्थापक अध्यक्ष होमबहादुर बरामलगायतले मन्तव्य राखेका थिए ।




