| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृतको सम्भावना

गोरखा दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषयले धेरै स्थान पाएको छ । तर जति पटक बहश, छलफल, पहल गरे पनि त्यसले मूर्त रुप लिएको छैन । यस बहशलाई तार्किक रुपमा लैजान यसअघि गोरखाकै बासिन्दाले पहल गरेको पाइएन । विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि स्थानीयबासीले सर्तमाथि सर्त तेस्र्याए त्यसैले सबै प्रयासहरु असफल भए ।

स्थानीयबासी भन्छन्, ‘हामीचाहिँ बस हेर्न बसपार्क पुग्नु पर्ने, हामीचाहिँ जंगली युगका मान्छेले झै पुरातन शैलीको जीवनयापन गर्ने, अनि देश, विदेशबाट आधुनिक मान्छेहरु आएर हामीलाई हेरेर रमाइलो लिने ?’, यस्ता धारणा गोरखा दरबार क्षेत्रमा बस्नेहरुको साझा धारणा थियो ।

विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियास्वरुप केही बर्षअघि यहाँ आधुनिक घरहरु निर्माण गर्न प्रतिवन्ध गरिएको थियो तर, भूकम्पका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट अनुदान लिने प्रयोजनका लागि सो प्रतिबन्ध फुकुवा भयो । त्यसपछि पुनः प्रयास भएको छैन ।

ग्राउण्ड रियालिटी यस्तो छ तर, प्रदेश सरकारले आउँदो बर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा फेरि पनि गोरखा दरबार, लिगलिगकोट दरबार र मनकामना मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने घोषणा गरेको छ ।
सफल भए शुभकामना छ, तर गोरखाका बासिन्दाको यसमा सकारात्मक सहयोग रहनेछैन ।

कुनै पनि मापदण्ड पूरा नगरी सूचीकृत हुने भए यहाँका बासिन्दा तयार छन् । बजारका पढालेखा, आधुनिक युगको खाँचो पूर्ति गर्न सक्ने नगरबासी जिल्लाबाटै पलायन भइसके । त्यसैले यो व्यापक अर्थ र महत्वधारी एजेण्डा सार्थक बन्न कठिनाइ भएको छ ।

प्रतिक्रिया दिनुहोस्