| मङ्लबार, कार्तिक २४, २०८३

महिला हिंसाका घटनामा पनि मिलापत्र

गोरखामा महिला हिंसाको घटना पनि मिलापत्र गरेर टुंगो लगाइएको छ । अजिरकोट गाउँपालिका ५ मुच्चोककी कल्पना धिताललाई सोही ठाउँ घर भई जिल्ला समन्वय समिति गोरखाकी सदस्य समेत रहेकी इन्दिरा देवकोटा तथा उनका श्रीमान रामचन्द्र देवकोटाले निर्घात कुटपिट गरेका थिए ।

पीडितकी छोरी आयुषा धितालले आमा कुटिएको भिडियो मोबाइलबाट खिचेर सामाजिक सञ्जालमा राखेपछि घटना व्यापक भएको थियो । साथै दरौंदी पत्रिकामा यसको फलोअपसहितका समाचार रिपोर्टिङहरु प्रकाशित भएपछि विषयले बहुचर्चा पाएको थियो ।

घटनाको बिरोध गर्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले विज्ञप्ति जारी गरी विरोध जनाएको छ । एउटी श्रमजीवि महिला पारिश्रमिक माग्न जाँदा श्रीमान, श्रीमती मिलेर निर्घात कुटपिट, लछारपछार गरेको घटनाको अरु कुनै पनि पार्टीले खासै चासो देखाएनन् ।

केन्द्रको देखासिकी गरेर अरु जिल्लाहरुमा भएका घटनाको बिरोध गर्ने परम्परामा रमिरहेका महिला अधिकारकर्मी, तथा अन्य मानवअधिकारवादी संघसंस्थाले पनि जिल्लाकै एक महिला जिल्ला समन्वय समितिकी सदस्य तथा अर्का एक पुरुषबाट निर्घात कुटपिट हुँदा पनि खासै चासो देखाएनन् । केन्द्रबाट निर्धारित कार्यक्रम मात्र गर्ने, जिल्लाका घटना तथा गैरबजेटरी कार्यक्रममा खासै चासो नदिने यस्ता अभ्यासले जिल्लाका राजनीतिक पार्टी, अधिकारकर्मीहरुको रुचि, चासोको विषय के रहेछ भन्ने प्रष्ट पारेको छ ।

यता पिडित महिलाकै आफन्तले विभिन्न प्रभाव र दबाब दिँदै पिडकसंग मिल्न बाध्य पारेका छन् । सामाजिक सद्भाव खलबलिने त्रास देखाउँदै र मोटो रकमको लोभमा पारेर पिडित महिलालाई हिंसाका घटनामा पनि मिलापत्र गर्न बाध्य पारेका छन् ।
उनीहरुले केही दिनअघि जिल्लामा क्रियाशील एक लेखापढी व्यवसायीलाई मिलापत्र कागज लेख्न लगाई अबदेखि यस विषयमा कुनै विवाद नगर्ने गरी मिलापत्र गरेका छन् ।

यस्ता हिंसाका घटना घटाउनेलाई कारबाही गरी आगामि दिनमा यस्ता घटना घट्न नदिनु पर्नेमा प्रभाव र दबाबमा मिलापत्र गर्न लगाउने दुखद अभ्यासले निरन्तरता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्