
छेपेटारमा भेटिएको भग्नावशेषको संरक्षण, उद्धार र पुनर्निर्माण गर्ने कि ?
गोरखा नगरपालिका वडा नं १० छेपेटारमा भेटिएको भग्नावशेष सत्रौँ सताब्दीको भएको प्रारम्भिक अनुमान गरिएको छ । पुरातत्व विभागले नौदिन लगाएर गरेको उत्खननबाट त्यहाँ भेटिएका भग्नावशेष सत्रौंदेखि अठारौँ सताव्दीको मन्दिरको भएको अनुमान गरेको हो । छेपेटारको महादेवथान संरक्षण तथा विकास समितिद्वारा गत वर्ष सो क्षेत्रमा लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्ने क्रममा पुरातात्विक संरचनाको भग्नावशेष फेला परेको थियो । काम रोकेर समितिले पुरातत्व विभागलाई खबर गरेको थियो । त्यसको करिब एक वर्षपछि विभागको टोलीले स्थलगत अध्ययन थालेको हो । अहिले देखिएको भग्नावशेषको ७० प्रतिशत मात्र उत्खनन भएको विभागले प्रारम्भिक अनुमान गरेको छ ।
भग्नावशेषको भाग, इटाको गारो, थाम राख्न प्रयोग भएको ढुंगा, जगको ढुंगा, ठाउँ ठाउँमा नासिएको, ठाउँठाउँमा बचेको भेटिएको छ । तामाको दियो, सिक्काहरु पनि भेटिएको छ । प्राप्त इटा, ढुंगा, मन्दिरको डिजाइन आदिको अध्ययन गर्दा यो सत्रौंदेखि अठारौं सताव्दीमा बनेको हुनसक्ने प्रारम्भिक अनुमान छ । सो स्थानमा २०३४ सालमा राम मन्दिर बनाउँदा पनि केही भग्नावशेष नष्ट भएका थिए । गतबर्ष पनि यहाँ एक्साभेटर लगाएर जग्गा सम्याउँदा र पिपलको बोट जरैदेखि उखालेर फ्याँक्ने क्रममा भग्नावशेषको धेरै भाग नष्ट भएको छ ।
बिस्तृत अध्ययनका लागि दक्षिण(पूर्वतर्फ रहेको राममन्दिरतर्फको भाग पनि उत्खनन गर्नुपर्ने अवस्था अझै पनि छ । ‘
हाल अध्ययन भएको क्षेत्रलाई प्लाष्टिकले ढाकेर माथिबाट माटोले संरक्षण गर्ने पुरातत्व विभागको योजना छ । तत्काल सो क्षेत्रमा उत्खनन नगर्न र कुनै पनि संरचना निर्माण नगर्न विभागले स्थानीयलाई आग्रह समेत गरेको छ ।
सत्रौं सताव्दीको मन्दिर भेटिनु गोरखाका लागि ठूलै उपलब्धी हुनेछ । चारसय बर्षअघिको सम्पदालाई फेरि एक पटक गोरखाले प्राप्त गर्नेछ । तसर्थ अब यस्ता महत्वपूर्ण सम्पदाको संरक्षण, प्रवद्र्धन गर्नुपर्छ । साथै सो ठाउँमा त्यतिकै प्राचीन शैलीको मन्दिर निर्माण गरी पर्यटकलाई आकर्षण गर्नुपर्दछ ।




