
पर्यटन बर्षको एउटा सम्झन लायक काम
सन् २०२५ लाई गोरखा नगरपालिकाले गोरखा भ्रमण बर्ष भनेर मनाइरहेको छ । भ्रमणबर्षको अवसर पारेर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले धेरै ठाउँको भ्रमण गरेर मनाइरहेका छन् । अनि नगरपालिकाकै खर्चमा विभिन्न जिल्लाहरुबाट धेरै अतिथि आमन्त्रण गरेर मनाइरहेको छ ।
भ्रमण, अवलोकन तथा पिकनिक गर्ने स्थलहरुको खासै निर्माण तथा पहिचान नगरे पनि भ्रमण बर्षको अवसरमा पानीका फोका जस्ता कार्यक्रमहरु धेरै भइरहेका छन् । तर सबै कार्यक्रम बालुवामा पानी हालेजस्ता मात्र छैनन् । दीगो हुने कार्यक्रम पनि केही भएका छन् । गत शुक्रबारबाट गोरखा नगरपालिकाभित्रका सडकहरुमा क्यू आर कोडसहितको स्ट्रिट नम्बरबोर्ड राख्न सुरु गरेको छ ।
आँबुखैरेनीबाट गोरखा प्रवेश गर्ने मूलगेटदेखि गोरखा दरबार, हरमटारीचोकदेखि कोखे आहालेसम्मका बिभिन्न ठाउँमा क्यू आर कोडसहितको स्ट्रिट नम्बर उल्लेखित बोर्ड राख्न थालेको छ । हालसम्म करिव ३० वटा स्थानमा क्यू आर कोडसहितको स्ट्रिट नम्वर बोर्ड राखिएको छ । अझै केही ठाउँमा बाँकी छ । एक दुई दिनभित्र सबै ठाउँमा यस्तो बोर्ड राखिसक्नेछ ।
गोरखा–आँबुखैरेनी सडकखण्डको अँबुवा, स्याउली, दशकिलो लगायतका बिभिन्न चोकमा स्ट्रिट नम्वरिङ बोर्ड राखिनेछ । त्यस्तै बजार क्षेत्रको प्रतिक्षालयचोक, आयुर्वेदिकचोक, रंगशाला, हरमटारीचोक, शक्तिचोक, पुरानो बसपार्क, बिपीचोक, ठूलोआँगन, तीनधारे, छहरे लगायतका ठाउँलाई पनि नम्वरिङ गरिने छ । हरमटारीचोकदेखि कोखे आहाले सडकखण्ड अन्तरगत बराह, आहाले, ढुंगागाडेचोक, फिनामचोक लगायतका स्थानमा यस्तो बोर्ड राखिने छ ।
बोर्डमा अंकित क्यू आर कोड स्क्यान गरेपछि त्यहाँबाट कुन कुन ठाउँ पुग्न सकिन्छ भनेर त्यो ठाउँको विवरणहरु आउँछ ।
यो कार्यक्रम भने गोरखा नगरपालिकाका लागि अति महत्वपूर्ण काम हो । यस्ता काम पछिसम्म काम लाग्ने खालका हुन्छन् । भ्रमणबर्षको अवसरमा आफू भ्रमण गर्ने र नगरपालिकाको खर्चमा अरुलाई भ्रमण गर्न बोलाउने कार्यक्रमका सट्टा यस्ता रचनात्मक अरु कामहरु पनि गर्नुपर्छ ।




