| मङ्लबार, कार्तिक २४, २०८३

पालुङटार एयरपोर्ट सञ्चालन गर

पालुङटार नगरपालिका वडा नं. ५ र ६ मा फैलिएर रहेको एयरपोर्ट बिगत ४५ बर्षदेखि बन्द रहेको छ । २०१५ सालबाट निर्माण सुरु भई २०१८ सालमा निर्माण सम्पन्न भएको सो एयरपोर्ट २० बर्ष सञ्चालन भयो र बन्द भयो । त्यसयता सो एयरपोर्ट पशुचौपाया चर्न, डुल्न, गाडी तथा बाइक सिक्न, ढुंगा, गिटी बालुवा भण्डारण गर्न प्रयोग हुने गरेको छ ।

अहिले हवाइग्राउण्डको छेउ हुँदै ठाँटीपोखरी जाने सडक कालोपत्रे भइरहेको छ । त्यसैले सो बाटोमा गुड्ने सवारी साधन हवाइग्राउण्ड हुँदै चल्ने गरेका छन् । चारबर्ष अघि निर्माण कार्य सुरु गरेर अलपात्र पारिएको हवाइग्राउण्डको हवाइजहाज धावनमार्ग धुलाम्मे भएको छ । यसअघि सो धावनमार्गमा घाँस पल्हाएको थियो ।

धावनमार्गमा घाँस पल्हाउनु पनि दुखद, धुलो उँड्नु पनि दुखद नै हो । तीन करोड रुपैयाँ लागतमा निर्माणको ठेक्का लागेको सो धावनमार्ग म्याद थप गरिरहँदा पनि सम्पन्न हुन सकेन । जग्गा विवाद, कोभिडलगायतका विवादका कारण रोकिएको काम चार बर्ष बितिसक्दा पनि अलपत्र अबस्थामै छ ।

गोरखा २ बाट प्रतिनिधिसभा निर्वाचनमा उठ्ने सबै नेताहरु हवाइग्राउण्ड सञ्चालनका लागि पहल गर्ने प्रतिवद्धता जनाउँछन् । घोषणा पत्रको केही हरफ यही प्रतिवद्धताले सजिने गर्छ । आमसभाका भाषण यही प्रतिवद्धताले सजिने गर्छ । तर चुनावपछि यो आवाज आवाजमै सीमित रहन्छ ।

विमानस्थल चल्ने कुनै छाँटकाँट नभएपनि राज्यको ढुकुटी सिध्याउन मर्मतसम्भार भनेर समय समयमा करोडौँ खर्च गर्ने गरिन्छ । विमानस्थलमा विमान नचल्ने भएपछि व्यक्तिले पनि यसको जग्गा अतिक्रमण गर्न हतार गर्छन्, अनि यसको संरक्षण गर्नुपर्ने निकाय स्वयं नै सडकलगायत भौतिक पूर्वाधार निर्माणका लागि पनि यहीँको जग्गा अतिक्रमण गर्छन् ।
यसको दुरुपयोग बढ्दै गएकाले यसलाई पुनसंचालन गर्नु नै वुद्धिमानी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्