| सोमवार, कार्तिक २३, २०८३

लाप्राकीको लालीगुराँस संरक्षण अभियान स्वागतयोग्य

‘नटिप्नु हेर कोपिला नचुँड्नु पाप लाग्दछ, नच्यात्नु फुल नानी हो दया र धर्म भाग्दछ’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो कविताले प्रकृति संरक्षण गर्नुपर्ने सन्देश दिन्छ । यसै पनि प्रकृतिको संरक्षण गर्नुपर्ने हाम्रो दायित्व हो । प्राकृतिक सौन्दर्य कायम गर्न सके पर्यटकको आकर्षण बढाउन सकिन्छ ।

प्रकृति संरक्षणले वातावरण संरक्षणमा पनि सकारात्मक प्रभाव पार्छ । यसका लागि अभियान पनि खाँचो पर्छ । अहिले लाप्राकमा लालीगुराँस फुल संरक्षण अभियान संचालनमा छ । लाप्राक पर्यटन बिकास समितिले फुल टिप्नेलाई कारवाही गर्ने निर्णय गर्दै ठाउँठाउँमा सूचना बोर्ड पनि टाँस गरेको छ ।

बिशेषत चैत्र र बैशाख महिनामा लाप्राकमा अधिकांश पर्यटक ढकमक्क फुलेको लालीगुराँस हेर्न आउँछन् । ढकमक्क फुलेको लालीगुराँसले गाउँको सौन्दर्यता मात्र बढाएको छैन पर्यटन प्रवद्र्धनमा पनि उत्तिकै सहयोग पु¥याएको छ । त्यसो त लालीगुराँस हाम्रो राष्ट्रिय फुल पनि हो । यसै पनि यसको संरक्षण गर्नु हाम्रो दायित्व पनि हो ।

तर लालीगुराँस हेर्न लाप्राक पुगेका अधिकांश पर्यटकले फुल टिप्ने नाममा हाँगा भाच्ने गरेपछि लाप्राकीले संरक्षण अभियान नै संचालन गर्नुपरेको हो । प्रकृति दोहन र क्षतिको क्रम जिल्लामा पनि बढेकै देखिन्छ । वन जंगल विनाशको क्रम पनि रोकिएको छैन ।

यसको प्रत्यक्ष असर वातावरण र क्रमश जलवायु परिवर्तनमा देखिएको छ । तर नागरिकको चेत खुलेको देखिदैन । लाप्राकीले लालीगुराँस संरक्षण अभियान संचालन गरेजस्तै प्रकृति संरक्षणका लागि एक्यवद्धता सहित पहल गर्नु जरुरी छ । प्रकृतिको संरक्षण गरौ, वातावरण जोगाऔ ।

प्रतिक्रिया दिनुहोस्