| सोमवार, कार्तिक २३, २०८३

बारपाक दलित बस्तीका महिलाहरुको समस्याप्रति गम्भीर बन

नेपालको वर्तमान राज्य व्यवस्थाले दलित समुदायको आर्थिक, सामाजिक, शैक्षिकलगायत चौतर्फी विकास गर्न प्रोत्साहनका कार्यक्रमहरु गरिरहेको छ । नेपालको संविधान २०७२ ले उनीहरुको उत्थानका लागि विभिन्न व्यवस्था गरेको छ । यसले विगतको तुलनामा दलित समुदायको अवस्था निकै सुदृढ भएको देखिन्छ ।

सामाजिक सुरक्षा भत्ता, छात्रवृत्ति, नीति निर्माण तहमा, रोजगारीको अवसरमा आरक्षित कोटा निर्धारण गरी दलितलाई अवसर प्रदान गरेको छ । यसरी हेर्दा दलितप्रति राज्यले गरेको व्यवहारलाई सकारात्मक भन्न सकिन्छ । तर, भूकम्पको केन्द्रविन्दूको गाउँ भनेर चिनिने, पर्यटीय दृष्टिकोणले चर्चित बारपाकको दलित समुदायको अवस्था बिल्कुलै अलग छ ।

२०७२ को विनाशकारी भूकम्पले ध्वस्त पारेको बारपाक छोटो समयमै उठ्यो । बारपाकमा अहिले करोडौँ लागतमा ठुल्ठुला घरहरु निर्माण भएका छन् । झट्ट हेर्दा कुनै सहर जस्तो देखिन्छ बारपाक । बारपाकीहरु आँफैमा सम्पन्न छन् । गाउँका अधिकांश युवा बैदेशिक रोजगारीमा छन् । पर्यटन पनि बारपाकको आयश्रोतको मुख्य माध्यम हो । तर, बारपाकको पुछारमा रहेको दलित बस्तीको अवस्था नाजुक छ ।

भूकम्पको १० वर्ष बितिसक्दा पनि यहाँको दलित समुदायले त्रिपालमुिन रात कटाइरहेका छन् भन्ने सुन्दा जोसुकैलाई आश्चर्य लाग्न सक्छ । उनीहरु पक्की घर बनाएर पुनस्थापित हुन त सकेनन्, तर, जहाँ बसेका छन्, त्यसको कथा ज्यादै करुणादायी छ । एउटै छाप्रोमा ९ जना, १० जनाको परिवार बस्नु परेको छ । जसले गर्दा विशेषगरी यहाँका किशोरी तथा महिलाहरुलाई निकै समस्या छ ।

एउटा छाप्रोमा सबै परिवार बस्नु पर्दा किशोरीहरुको गोपनियता जोगाउन कठिन छ । महिनावारीको समयमा कपडा तथा प्याड फेर्न उत्तिकै समस्या छ । महिलाहरु साँझ बिहान बारीका पाखामा गएर कपडा तथा प्याड फेर्न बाध्य छन । हेर्दा सानो लाग्ने यो विषय निकै गम्भीर हो । यस्तो सकस यहाँका दलित समुदायले कहिलेसम्म भोग्नु पर्ने हो ? यसप्रति स्थानीय सरकार, तथा प्रदेश, केन्द्र सरकारको समेत ध्यानाकर्षण हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्