
ल्याण्डफिल्डसाइट विवादको दीगो समाधान गर
आवास क्षेत्रका लागि ल्याण्डफिल्डसाइट अति आवश्यक स्थल हो । विना ल्याण्डफिल्डसाइट सहरको परिकल्पना गर्न सकिँदैन । तसर्थ सहर बसाल्नुअघि नै यसको पनि जोहो अनिबार्य छ ।
तर गोरखा बजारजस्तो ऐतिहासिक स्थल, जहाँ चारसय बर्षभन्दा पहिले नै आवास क्षेत्र थियो, यहाँ त्यतिबेला ल्याण्डफिल्डसाइटको परिकल्पना थिएन । जब समय बदलिँदै गयो, आवास क्षेत्रको जनघनत्व बढ्दै गयो, घरसंख्या बढ्दै जान थाल्यो तब, ल्याण्डफिल्डसाइटको अबधारणा सुरु भयो । त्यसैले यहाँ ल्याण्डफिल्डसाइटको विषय सँधै पेचिलो बनिरहेको हो ।
यसअघि लुदीखोला आसपास ल्याण्डफिल्डसाइट थियो, त्यहाँ पनि निरन्तरको विवादले टिकिरहन सकेन ।
अहिले गोरखा नगरपालिकाभन्दा तलको वनक्षेत्रमा यो निर्माण गरिएको छ । त्यसका विषयमा पनि विभिन्न निहुँमा विवाद बल्झिरहन्छ । प्रथमतः त्यहाँसम्म पुग्नै सकस छ । बाटो भिरालो छ । त्यहाँसम्म पुग्ने बाटो कालोपत्रे(ढलान) हुनुपर्ने हो, तर बर्खाका बेला पहिरो तथा हिलोका कारण ट्रक, ट्रयाक्टरसम्म पनि चल्न कठिन हुन्छ । सामाजिक उत्तरदायित्वका विभिन्न विषयले किचलो चलि नै रहेको हुन्छ ।
अहिले धार्मिक तथा पर्यटकीय स्थल मनकामना मन्दिर र बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि निर्माण हुन लागेको ल्याण्डफिल्ड साइटको काममा स्थानीयले अवरोध गरेका छन् । शहिद लखन गाउँपालिका–३ सिमलगैरीमा निर्माण हुन लागेको ल्याण्डफिल्ड साइटको काम स्थानीयको अवरोधका कारण अघि बढ्न सकेको छैन । संघीय बिशेष अनुदानबाट प्राप्त तीन करोड रकमबाट पालिकाले सो क्षेत्रमा ल्याण्डफिल्ड साइट निर्माण गर्न लागेको हो । ठेक्का सम्झौता भएर काम समेत अघि बढेको थियो । तर स्थानीयको अवरोधले काम ठप्प छ ।
फोहोरलाई मोहोरमा परिणत गर्ने लक्ष्यसहित पाइलट प्रोजेक्टको रुपमा यो योजना लागू गर्न लागिएको थियो । सो क्षेत्रमा ल्याण्डफिल्ड साइट बनेपछि खानेपानीको मुहानमा पानी अभाव हुने, भएको पानी पनि दुषित हुने स्थानीयको बुझाइ छ । त्यसको दीगो समाधान स्थानीयले चाहेका हुन् । तसर्थ यस्ता खालका समस्या चाहे जहाँकोसुकै किन नहोओस्, दीगो समाधान हुने विकल्प खोज्नुपर्छ ।




