
विश्व प्रेस स्वतन्त्रता दिवस: गोरखामा अन्तरक्रिया गरेर मनाइयो
विश्व प्रेस स्वतन्त्रता दिवस, गोरखामा अन्तरक्रिया कार्यक्रम गरेर मनाइएको छ । शनिबार पत्रकार महासंघ गोरखाको आयोजनामा ‘प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमता (ए.आई)को प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम गरेर स्वतन्त्रता दिवस मनाएको हो ।
कार्यक्रममा जिल्लाको पत्रकारिताको अवस्था र चुनौतिको विषयमा छलफल भएको थियो । स्वतन्त्र पत्रकारिताको अवधारणा र पत्रकारितामा कृत्रिम बुद्धिमता (ए.आई)ले पारेको प्रभावको विषयमा कार्यक्रममा चर्चा भएको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले प्रेस स्वतन्त्रताको सूचाङ्कमा नेपाल एसिया महादेशकौ शीर्ष स्थानमा रहेको बताए ।
साथै, उनले जिल्लामा पत्रकारिताको अवस्था सन्तोषजनक रहेको बताएका छन् । संचारमाध्यमको संरक्षण गर्नु सबैको दायित्व भएकाले स्थानिय तह, सरकारी तथा गैरसरकारी संस्थाहरु लगायतका निकायहरु संचारमाध्यमको संरक्षणमा आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने उनको भनाई छ । कृत्रिम बुद्धिमता (ए.आई)ले पत्रकारिताको अस्तित्व नै संकटमा पारेको अहिलेको वर्तमान अवस्थामा एआईको बढीभन्दा बढी प्रयोग गरेर नयाँ नयाँ सम्भावनाहरु पहिचान गर्न आवश्यक रहेको कार्यक्रमको निश्कर्ष छ ।
पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकालको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण बहादुर राना, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैरसरकारी संघका प्रतिनिधिहरु, पत्रकार महासंघ गोरखाका पदाधिकारीहरु र जिल्लामा क्रियाशिल संचारकर्मीहरुले सहभागिता जनाएका थिए ।




