| सोमवार, कार्तिक २३, २०८३

स्थानीयलाई जानकारी बिनै हाइटेण्सन लाइन ?

गोरखा सबस्टेशन र घ्याम्पेशाल सवस्टेशनलाई जोड्नेगरी गोरखा सबस्टेशनबाट ट्रान्समिशन लाइन बिस्तारको काम अहिले सुरु भएको छ । ट्रान्समिशन लाइन सबस्टेशनबाट खल्लुबोटे झार्ने, त्यहाँबाट खोलखोले जोड्न नगरपालिका रोड हुँदै बिस्तार गर्ने भनी नौबर्षअघि डिपिआर गरिएको थियो ।

तर काम अघि बढेन । एक्कासी यस बर्ष काम सुरु गरियो, तर स्थानीयबासीलाई जिल्ल पार्नेगरी । काम डिपिआर गरिएकोतिरबाट नगरी त्यसभन्दा तल सिमलगैरी, नौबीसे हुदै सल्यानधारा निकाल्ने गरी काम सुरु गरे । सिमलगैरी, नौबिसे क्षेत्रका बासिन्दाले डिपिआरमा उल्लेख गरिएको रुटमै काम गर्न माग गरे । डिपिआरमा कुन रुट निर्धारण भएको छ भनेर हेर्न माग गरे तर देखाइएन । उल्टै प्रहरी प्रशासन लगाएर काम अघि बढाउने प्रयास भयो ।

स्थानीयबासीले विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर डिपिआर हेरे । आवश्यक पेजको फोटो खिचेर पनि ल्याए । प्राधिकरणको केन्द्रीय कार्यालय पुगेपछि त्यहाँ धेरै अनौठो तथ्यहरु भेटिए । सडक बनाइदिए सिमलगैरी, नौबिसे हुदै ट्रान्समिशन लाइन बिस्तार गर्न अवरोध नगर्ने सहमति दिएको, २६, २७ पटक बैठक बसेको जस्ता सूचनाहरु त्यहाँबाट प्राप्त भयो । यी सबै झुठ विवरण नगरपालिकाले प्राधिकरणको केन्द्रमा पेश गरेको स्थानीयबासीको आरोप लगाएका छन् ।

आफूहरुलाई थाहै नदिई यतिका झुठा काम भएको उनीहरुको गुनासो छ । आफूहरुले सडकको माग पनि नगरेको, गाउँको बाटो ट्रान्समिशन लाइन दिन सहमति पनि नदिएको उनीहरुको दाबी छ । लोकतान्त्रिक शासन व्यवस्था अधिनायकवादी शासन व्यवस्थाजस्तो हुनुहुदैन । जे सुकै काम गर्दा स्थानीयबासीसंग समझदारी कायम गर्नुपर्छ । बेठिक काम गर्नुहुदैन । कहिलेकहीँ सही कुरो नबुझेर बाधा, अबरोध गर्ने पनि गरिन्छ । तर उनीहरुलाई स्पष्ट पारेर कन्भिन्स गरेर समझदारीमा ल्याउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्