| सोमवार, कार्तिक २३, २०८३

गोरखा दरबार, मन्दिर सञ्चालन गर्न समिति बनाऔँ

मनकामना मन्दिरको व्यवस्थापन नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गर्ने ‘मनकामना क्षेत्र विकास समिति’ले गर्ने गरेको छ । तर गोरखकाली मन्दिर, गोरखनाथ मन्दिर र गोरखा दरबार नेपाल सरकारको ‘गोरखा दरबार हेरचाह अड्डा’ले सञ्चालन गर्ने गरेको छ ।

गोरखा दरबारमा काम गर्ने कर्मचारी नेपाल सरकारले नै खटाउने गरेको छ । मनकामना मन्दिरमा अथाह भेटी र चन्दा संकलन हुनेगर्छ । चन्दा बाकसको रकम क्षेत्र विकास समितिले व्यवस्थापन गर्ने गर्छ । यहाँ दैनिक कम्तिमा चार हजार, पाँच हजार भक्तजन आउँछन् । उनीहरुले औसत १० रुपैयाँ भेटी चढाए भने पनि दैनिक ४० हजार रुपैयाँ संकलन हुने गर्छ ।

यो रकम ठूलो संस्थाको व्यवस्थापनमा अत्यन्त पर्याप्त हो । तर यसको व्यवस्थापन हुन सकेको छैन । भेटी पुजारीकै विवेकमा प्रयोग हुने गर्छ । यसलाई व्यवस्थित गर्न धेरै बहश, पैरवी भएको पनि हो, माग भएको पनि हो, तर अहिलेसम्म यस प्रयासले साकार रुप लिन सकेको छैन । गोरखा दरबारमा पनि भेटी र चन्दा संकलन त हुन्छ, तर अत्यन्त सीमित । चार महिनाको अवधिमा औसतमा दुईलाख ६८ हजार रुपैयाँ संकलन हुनेगर्छ ।

राम्ररी व्यवस्थापन गर्न सके यस रकमले पनि धेरै काम व्यवस्थापन हुनसक्छ । यसका लागि सम्बन्धित निकायको इच्छाशक्ति चाहिन्छ । अहिले दान पेटिकाको रकमको सदुपयोग गर्न सुरु गरिएको छ । आवश्यकता अनुसार दरवार परिसरको सरसफाई, खानेपानीका धारा मर्मत लगायतका काममा खर्च गर्ने मन्दिर स्रोतले जनाएको छ ।

गोरखा दरबार, गोरखकाली मन्दिर, गोरखनाथ मन्दिर व्यवस्थापनका लागि एउटा अधिकार सम्पन्न समिति गठन गरेर व्यवस्थापनको काम गर्नुपर्दछ । यसका लागि सदरमुकामका सामाजिक अगुवाहरुले विशेष अगुवाइ लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्