| सोमवार, कार्तिक २३, २०८३

सहकारी चोरी गोरखाको क्रोनिक समस्या

गोरखामा फेरि अर्को सहकारी चोरीको घटना भएको छ । बारपाक सुलिकोट गाउँपालिका–५ थालेस्थित पिपलबोट कृषि सहकारी संस्थाबाट दुईलाख भन्दा धेरै रकम चोरी भएको हो । शनिवार राती संस्थाको कार्यालय तोडफोड गरी २ लाख १५ हजार रकम चोरी भएको हो ।

भवनको मूल गेट र सेफ राखेको कोठाको चावी फुटाएर सेफभित्र रहेको लकर फुटाएर पैसा चोरी भएको हो । घटनाबारे जानकारी पाउनेवित्तिकै प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्मा नेतृत्वको टोली घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेको छ । सहकारीभित्र सिसिटिभी जडान नभएकाले चोरीको घटनाबारे पहिचान गर्न समस्या भएको प्रहरीको भनाइ छ ।

सहकारी २०७२ साल बैशाख महिनामा खुलेको हो । संस्थामा हाल करिव दुई सय जना सेयर सदस्य छन् । यसअघि भीमसेनथापा गाउँपालिका ७ बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट पनि ठूलो रकम चोरी भएको थियो । २०७८ सालमा त्यस सहकारीको रकम चोर्नेहरु अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । चोरी भएको चार बर्ष बितिसक्दा पनि चोरीमा संलग्नबारे कुनै तथ्य फेला पार्न नसकिएको हो ।

त्यस्तै २०७७ सालको पुसमा पालुंटार नगरपालिका ७ को मिरकोट बचत तथा ऋण सहकारी संस्थाबाट पनि ठूलो परिमाणको रकम चोरी भएको थियो । त्यस घटनाको पनि कुनै तथ्य फेला पार्न सकेको छैन । अहिले फेरि अर्को घटना भएको हो ।
यसले सहकारी सुरक्षित छैनन् भन्ने बुझाउँछ ।

अर्थात सहकारीमा राखिएको नगदप्रति चोरआत्माहरुले नजर गाडेका हुन्छन् । बखत र मौका छोपेर उनीहरुले त्यसलाई हात पार्छन् । सिसी क्यामेरा भएको सहकारीबाट पनि चोर्छन्, नभएको सहकारीबाट त झन सजिलै चोर्न सक्छन् । तसर्थ सहकारीले चोरबाट बच्न नयाँ रणनीति अपनाउनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्