| मङ्लबार, जेष्ठ ७, २०८२

सहिदलखनमा स्वास्थ्य शिविर सम्पन्न, ४४६ जनाले सेवा लिए

गोरखाको सहिदलखन गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । छिमेकी लघुवित्त वित्तीय संस्था, आँबुखैरेनीको आयोजना, सहिदलखन–३ का समन्वय र गुन्जमान सिंह अस्पतालको प्रविधिक सहयोगमा सम्पन्न शिविरमा चार सय ४६ जनाले सेवा लिएका छन् ।

शिविरमा तीनसय ११ महिला र एकसय ३५ जना पुरुषले सेवा लिएका छन् । एकदिने शिविरमा सामान्य स्वास्थ्य परीक्षण, नाक, कान तथा घाँटी परीक्षण, नशा तथा हाडजोर्नी परीक्षण, स्त्री तथा प्रसुती रोग परीक्षण गर्नुका साथै अल्ट्रासाउण्ड सहित भिडियो एक्स रे सेवा दिएको छिमेकी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक तिवारीले बताए ।

शिविरमा एक सय ११ जनाले नाक, कान घाँटीको जाँच गराएको उनले जानकारी दिए । यस्तै, दुई सय ३८ जनाले हाडजोर्नी जाँच गराएको र एकसय ५५ जनाले स्त्री तथा प्रसुती रोग जाँच गराएको उनको भनाइ छ । ‘एक सय ६ जनाले सामान्य स्वास्थ्य परीक्षण गराएका छन् भने दुईसय जनाले अल्ट्रासाउण्डसहित भिडियो एक्स रे सेवा लिनु भएको छ’, उनले भने, ‘स्वास्थ्य परीक्षणपछि आवश्यकताका आधारमा निशुल्क औषधी समेत वितरण गरिएको छ ।’

सहिदलखन गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष दिपक पाण्डेको अध्यक्षता एवं पालिका अध्यक्ष रमेशबाबु थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा छिमेकी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक तिवारी, संस्थाका वरिष्ठ विभागीय प्रमुख नारायण महतो लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्