
कैयौँ कुरा सम्झनु पनि पर्दछ, बिर्सनु पनि पर्दछ
दाजुले जति पटक पिट्छन्, त्यति नै पटक सो घटनाबारे नजिकैको बगरमा गई बालुवामा लेख्ने र जति पटक दाइले माया गर्छन्, त्यति नै पटक ढुंगामा लेख्ने भाइलाई कसैले जिज्ञासा राखेपछि दिएको जवाफ महत्वपूर्ण छ । भाइले भन्थे, दाइले पिटेको गाली गरेको घटना दीगो समयसम्म नरहोस्, छिट्टै मेटियोस् भनेर बालुवामा लेख्ने गर्छु । माया गरेको घटना सँधै सम्झन पाउँ भनेर ढुंगामा लेखेको हुँ ।
दैनिकी(डायरी) लेखनका पनि केही लाभ छन्, केही हानी । दैनिकीमा लेखिएका दिनदिनका घटनाले बितेका दिनमा के के भए भन्ने स्मरण गराउँछ, जुन वृद्धावस्थामा पढ्दा महत्वपूर्ण रहन्छ । तर जीवनका दुखद घटनाहरु सम्झेर फेरि दुखी तुल्याउँछ । यसलाई सकारात्मक मान्न सकिँदैन । त्यसैले पुराना कुरा सम्झनुभन्दा बिर्सनु राम्रो हुन्छ ।
नेपालीहरुको एउटा राम्रो बानी छ, बिगतलाई सजिलै बिर्सने । २०७२ सालको भूकम्पले अथाह धनजनको क्षति ग¥यो । त्यसपछि भूकम्पप्रतिरोधी संरचना बनाउने प्रतिवद्धता आयो । तर केही बर्ष नबित्दै कमजोर संरचनाहरु बनाउन थालियो । उच्च जोखिम स्थानमा बसोबास गर्नेलाई सुरक्षित स्थलमा स्थानान्तरण गर्ने भनियो । सुरक्षित स्थलमा आवास पनि बन्यो, तर केही बर्षपछि सबै पुरानै आवासमा बसे, नयाँ आवासहरु रित्तै भए ।
भूकम्पको चोट सहिरहेका बेला भारतले नाकाबन्दी ग¥यो । हरेक कुरा भारतसंग निर्भर रहँदा यस्तो समस्या भएकाले अब नेपाल आफै उत्पादनमुखी हुनुपर्ने, आत्मनिर्भर हुनुपर्ने प्रतिवद्धताहरु आए । तर जब नाका खुल्यो, फेरि प्रतिवद्धता बिर्सिएर परनिर्भर हुन थालियो । यस्ता कैयौँ उदाहरण छन्, नेपालीले पुराना प्रतिवद्धताहरु बिर्सिएका ।
यसरी बिर्सनुलाई सकारात्मक ढंगले व्याख्या गर्न पनि सकिन्छ, नकारात्मक पनि । बिगत सम्झेर जीवनलाई दुखदायी बनाउनु भन्दा बिर्सनु नै उत्तम हुन्छ । तर बिगतका धोका, बिगतका गल्ती सम्झेर त्यसबाट पाठ सिकी अबका दिनमा सच्याउँदै अघि बढ्नु पनि पर्दछ । जस्तो कि, भूकम्पलाई सम्झनु पनि पर्दछ, बिर्सनु पनि पर्दछ ।




