
महिलालाई आत्मनिर्भर बनाउन पालुङ्टार मोडल
स्थानीय तहलाई अनौपचारिक रुपमा स्थानीय सरकार पनि भन्ने गरिन्छ । स्थानीय स्तरमा खटेर काम गर्ने, घरदैलोमा गएर सरकारी सेवा दिने भएकाले यसो भनिएको हो । समुदायस्तरमा गएर महिला, दलित, अल्पसंख्यक, आदिवासी जनजाति, अपांग समुदायको हक र हितमा रही काम गर्नु स्थानीय सरकारको सौन्दर्य हो ।
साँध, सीमाका विवाद मिलाउनु, घरझगडा मिलाउनु, पति, पत्नीको विवाद, मुद्दा मिलाउनु जनअपेक्षा अनुसार विकास निर्माणको काम गर्नु, आयआर्जनको कार्यक्रम गर्नु, रोजगार, स्वरोजगार सिर्जना गर्नु स्थानीय सरकारको दायित्व, जिम्मेवारी हो । जनस्तरमा माइक्रोलेभलमा रहेर काम गर्नु स्थानीय सरकारको काम हो ।
त्यसैले कसले यो मर्म र भावना मिल्दोजुल्दो उत्कृष्ट कार्यक्रम गर्ने भन्नेमा एकप्रकारको(अनौपचारिक) प्रतिस्पर्धा जस्तो देखिन्छ । कतिपय पालिकाहरु बीच अनुभव आदानप्रदान कार्यक्रम पनि हुने गरेका छन् । अनुभव सेयरिङमा आफ्ना उत्कृष्ट कार्यक्रम प्रस्तुत गर्ने लोभ हुने गर्छ ।
पालुङटार नगरपालिकाले अहिले यस्तै उत्कृष्ट कार्यक्रम गरेको छ, जसले महिलाहरुलाई आत्मनिर्भर गर्न, आयआर्जन गर्न ठूलो टेवा दिनेछ । केही दिनदेखि सो पालिकाले महिलाहरुलाई अटो चलाउने तालिम सञ्चालन गरेको छ । वडा नं. ६ र ७ का महिलाका लागि सो तालिम सञ्चालन गरेको हो ।
यस्तै तालिम वडा नं. ४ र ५ का लागि पनि आवश्यक छ । किनभने यी चारवटै वडाहरुमा समथर भूभाग छ । अटो उकालो सडकमा चलाउन सहज हुदैन, बरु जोखिम हुन्छ । त्यसैले कानूनी रुपमा यो प्रतिवन्धित पनि छ । समथर भूभागमा अटो चलाएर आयआर्जन गर्न सजिलो हुन्छ । त्यसका लागि पालिकाले स्थानीय स्तरमा ऐन, कानून बनाउने तयारी पनि गरेको छ ।
प्राय गाउँठाउँका पुरुषहरु वैदेशिक रोजगारीमा गएका, बालबालिका विद्यालय, कलेज पढ्ने र महिला मात्र घरमा रहने गरेकामा यदि महिलाहरुले अटो चलाएर आयआर्जन गर्ने गरेमा घर व्यवहार चलाउन, बालबच्चा पढाउन सजिलो हुने छ । त्यसैले यस्ता कार्यक्रम नमूनायोग्य हुनेछ ।




