
मिना कोइरालाबाट सिक्ने पाठ
लाउँ लाउँ र खाउँ खाउँको उमेरका युवाहरु विदेशमा जाने, गोरुझैँ जोतिएर काम गर्ने, अनि उनीहरुका बुबा आमा गाउँघरमा ढलेको सिन्को पनि नउठाई खाने, बस्ने अहिलेको प्रवृत्ति हो ।
खाडी तथा यूरोपियन मुलुकको ४५ डिग्रीभन्दा बढि अथवा माइनस डिग्री तापक्रममा काम गर्ने, उनीहरुले पठाएको रेमिट्यान्समा निर्भर भएर यहाँ गाउँघरमा गफ चुटेर, भट्टी पसलमा भुलेर, कत्तिपनि उत्पादनको काम नगरी दिन काट्ने प्रवृत्ति अहिले छ । यसो गर्दा वैदेशिक रोजगारीमा गएका कैयौँ छोराछोरी बाकसमा फर्केका उदाहरण छन् ।
उमेरमा एकफेर विदेश जानु स्वभाविक छ । वैदेशिक परिवेश बुझ्न, श्रमप्रति सम्मान गर्न, काम गरेर खाने प्रवृत्तिको विकास गर्न केही समय विदेश जानु स्वभाविक हो तर, छोराछोरी अथवा श्रीमान विदेशमा छन् भन्दैमा गाउँघरमा कामै नगरी दिन विताउनु दुखद हो । यस्तो प्रवृत्तिको चौतर्फी त्रुटी छन् ।
परनिर्भरता बढाउनु, समयको दुरुपयोग हुनु, जाँडरक्सी खाने, जुवातास खेल्ने जस्ता कुलतको हावी हुदै गएको छ । जुन दुखद छ । छोराछोरीले विदेशमा कमाएको अलिअलि कमाइमा घरगाउँमा बस्ने बुबाआमाले पनि थपथाप गरी आयआर्जन गरे सुनमा सुगन्ध हुनेछ ।
परिबारका सबैजनाको कामप्रति लगाव भए सबैलाई जोश, जाँगर हुनेछ । यसको एक उदाहरण हुन्, गोरखा नगरपालिका ७ डण्डीडाँडाकी मिना कोइराला, जसको श्रीमान र छोरी दुबाइमा वैदेशिक रोजगारीमा छन् । छोरी नर्स हुन् । एउटा छोरा डेण्टल पढ्दैछन् । तर मीना गाउँघरमा श्रम गर्दैछिन् । उनी तरकारी रोप्छिन् । बेचेर प्रसस्त कमाइ गर्छिन् ।
उनको कामबाट विदेशमा रहेका श्रीमान, छोरी पनि खुशी, उनी काममा मोह भएकाले आफै पनि खुशी छिन् । यसले परिबारमा सुख दिन्छ । आयआर्जनमा टेवा दिन्छ । समयको दुरुपयोग पनि हुन पाउँदैन ।
त्यसैले मिना श्रम गर्ने महिलाको एक आदर्श पात्र हुन् ।




