| सोमवार, कार्तिक २३, २०८३

जनप्रतिनिधिहरुले जनमतको कदर गरुन्

संघीय लोकतान्त्रिक शासन व्यवस्थामा स्थानीय तहलाई धेरै नै कार्यभार सुम्पिएको छ । स्थानीय तहको पनि वडा तहमा धेरै जिम्मेवारी तथा धेरै कार्यभार निहित हुन्छ । टोलटोलमा, घरघरमा, जनजनमा पुग्ने निकाय भनेकै वडाका जनप्रतिनिधि हुन् ।
जतिधेरै कार्यभार, उति धेरै जिम्मेवारी, जति धेरै जिम्मेवारी(उत्तरदायी) उति धेरै शक्ति निहित हुन्छ । यति धेरै जिम्मेवारी पाएका जनप्रतिनिधि जनताप्रति नङ मासुको सम्बन्धमा हुन्छन् ।

तर पछिल्लो चरणमा स्थानीय तहका जनप्रतिनिधिहरु विदेशिने क्रम बढिरहेको छ । गोरखाका मात्रै तीनजना जनप्रतिनिधि बिगत लामो समयदेखि विदेशमा छन् । गण्डकी गाउँपालिका ७ का वडाअध्यक्ष तुलसी रेग्मी, सिरानचोक ५ का वडाअध्यक्ष थानेश्वर पोखरेल र धार्चे ६ का वडाअध्यक्ष धनकुमार घले बिगत लामो समयदेखि विदेशमा छन् ।

ज्येष्ठ सदस्यलाई कार्यबाहक सुम्पिएर उनीहरु विदेशमा रहेका हुन् । जनताको मत लिएर चुनाब जित्ने अनि पिठ्युँ फर्काएर विदेश गई बस्दा यहाँ सेवाग्राहीहरु मर्कामा छन् । चुलोचौकोको झगडा मिलाउनेदेखि साँधसीमाको विवाद मिलाउनेसम्मको जिम्मेवारी उनीहरुमा हुन्छ । तर विदेशमा गएर बस्दा उनीहरु समस्यामा पर्ने गर्छन् ।

वडाको चौतर्फी विकासका लागि पालिकाको बैठकमा गएर बहश, पैरवी गर्ने मुख्य जिम्मेवारी वडाअध्यक्षकै हुन्छ । वडाअध्यक्ष र सदस्यको योग्यता, क्षमता, दक्षता उही हुँदैन । जुन विश्वासले जुन क्षमता भएकालाई वडाअध्यक्ष बनाइएको हुन्छ, वडा सदस्यबाट त्यो प्राप्त गर्न सम्भव हुदैन । तसर्थ कसैलाई कार्यबाहक दिएर लामो समय विदेशिनु न्यायसंगत हुदैन ।

जनताको भोट पाएर चुनाब जित्दैमा विदेश जानै हुदैन भन्ने अर्थमा बुझ्नु गलत हुनेछ । तर लामो समय विदेश गएर बस्दा भने यहाँ सकस हुनेगर्छ । यो जनमतको अनादर पनि हो । तसर्थ जनप्रतिनिधिहरुले जनमतको कदर गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्