| सोमवार, कार्तिक २३, २०८३

कविताको बिडम्बना अरुले खेप्नु नपरोस्

यदि शिक्षकहरुको आन्दोलन नभएको भए अहिले भर्ना अभियान सञ्चालन हुने बेला हो । यति बेला शिक्षकहरु, व्यवस्थापन समितिसमेत मिलेर घरदैलो अभियान सञ्चालन गर्दै हुनेथिए । गतबर्ष पनि भर्ना अभियान सञ्चालन भएको हो । विद्यालय उमेरका एकजना बालबालिका पनि विद्यालय बाहिर नहोउन् भन्ने लक्ष्यसहित अभियान सञ्चालन गरिन्छ ।

यति हुँदा हुदै पनि कैयौं विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर छन् । विशेषगरी बिही गाउँमा धेरै बालबालिका विद्यालय बाहिर रहेको देखिन्छ । त्यस्तै चेपाङ समुदायमा पनि बालबालिका विद्यालयबाहिर छन् । गण्डकी गाउँपालिका ६ वनटारकी कविता चेपाङ एक ज्वलन्त उदाहरण हुन्, जो अहिले पनि विद्यालय बाहिर छिन् । अहिले छ पास गरेर सात कक्षामा पुग्र्ने उनी बुबाआमाको दबाबले पढ्न छाडिन् । १३ बर्षकी उनी अहिले घरायसी काममा व्यस्त हुने गर्छिन् ।

पढ्न मन नलागेको पनि होइन, पढाइमा प्रगति नगरेको पनि होइन, तर उनलाई घरबाट बारम्बार पढ्न छाड्न दबाब सिर्जना भयो । कविताको अन्य चार दिदीबहिनी र तीनजना दाजुभाईहरु छन् । उनी माथिको दाई सुरज केही वर्षअघि चार कक्षा पढ्दा पढ्दै घरको अवस्था देखेर पढ्न छाडे । उनी अहिले चितवनतिर होटलमा काम गर्छन् । उनकी जेठी दिदी अस्मिताले पनि पढ्नै पाइनन् । बुबाआमा मादक पदार्थ सेवन गरी झै झगडा गर्ने, पढ्न जान नदिने, कुटपिट गर्ने गर्दा उनीहरु पढाइबाट बञ्चित भएका हुन् ।

यो त एउटा नमूना मात्र हो, पढ्न नपाएर विद्यालय बाहिर रहेका यस्ता धेरै बालबालिका बग्रेल्ती छन् । त्यस्ता पीडित बालबालिकाको खोजी गरी पढ्न पाउने व्यवस्था गर्नुपर्दछ । सामाजिक काम गर्ने उद्देश्यले गठन भएका, शिक्षा क्षेत्रमा काम गर्ने उद्देश्यले गठन भएका संघसंस्थाले पनि यस्ता विवशता भोगिरहेकाको खोजी गरी पढ्ने वातारण बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्