
बालअधिकार, बाल संरक्षण, बाल बचाऊ
बालबालिका भनेका देशका भोलिका कर्णाधार हुन् । जसरी काँचो माटोलाई जे चाह्यो, त्यही स्वरुप, संरचना बनाउन सकिन्छ त्यसैगरी, आजका बालबालिकालाई जस्तो जनशक्ति बनाउन चाह्यो, त्यस्तै बनाउन सकिन्छ ।
तर अहिले बालबालिका अपहेलित छन् । जब बुबा आमाका बीच अस्वस्थ सम्बन्ध हुन्छ, त्यसको दुश्प्रभाव बालबालिकामा प्रतिविम्बित हुन्छ । बुबा आमा झै झगडा गर्न थालेपछि बालबालिका चिन्तित हुन्छन् । रुने, पिरोलिने, एकलासमा बस्ने, घर छाडेर हिँड्ने, घरको तनाब कम गर्न भन्दै कुलतमा फँस्ने गर्छन् ।
बुबा आमा सँधै झगडा गर्न थालेपछि बालबालिका डिप्रेशनमा समेत जान सक्छन् । समाजमा कैयौं बालबालिका घरझगडाका कारण आत्महत्या गरेका उदाहरणहरु छन् । कुलतमा फँसेका कैयौँ बालबालिका प्रहरी नियन्त्रणमा पुगेका हुन्छन् । बाल बिज्याइँ गर्ने बालबालिकाहरुलाई कुनै कडा कारबाहीको व्यबस्था छैन, त्यसैले प्रहरीले उनीहरुलाई मुक्त गर्ला, तर उनीहरुको अबस्था पुनः त्यस्तै अर्थात दुव्र्यशनमा फँस्न पुग्छ ।
प्राय दम्पत्तिका दुईमध्य एकजना विदेश हुनेहरुको सम्बन्धमा दरार उत्पन्न हुन्छ । हुँदा हुँदै ‘टुपी र चुल्ठो’को अबस्था सिर्जना हुन्छ । जब उनीहरु डिभोर्सको अबस्थामा पुग्छन् तब, बालबच्चामा तनाब पैदा हुन्छ । उनीहरु बाबु र आमा दुवैले आफूलाई स्याहार सम्भार, पठनपाठन गराइदियून भन्ने चाहन्छन् ।
उनहरुमा आमा र बुबा दुवैजनाको मायाको खाँचो छ भन्ने उनीहरुको मनाशय हुन्छ । तर बुबा, आमा टसकामस नभएपछि डिभोर्स हुनपुग्छ । त्यसपछि सुरु हुन्छ, बालबालिकाको दुर्दिन । बच्चा बुबासित बस्यो भने केही समयपछि सौतेनी आमा ल्याइहाल्छन् ।
बच्चा आमासित बस्यो भने केही समयपछि आमा पनि अर्काे बिहे गरेर गइदिन्छिन् । यसरी बुबा र आमा दुवै संगसंगै बसेनन् भने बालबच्चाको बिचल्ली हुन्छ । भविष्यको एक असल नागरिकको जीवन तहसनहस हुन्छ । त्यसैले बालबालिकाको संरक्षण, बालबचाऊ बाल अधिकारको सुनिश्चितता हुनुपर्छ ।




