
बिगतको समीक्षा गर्दै आगत सुखद बनाऔँ
नयाँमा नविनता, नूतनता हुन्छ । नयाँले नयाँ उर्जा सेँचन गर्दछ । त्यसैले नवीनता सबैको चाहा हुन्छ । नेपालमा प्रचलित विक्रम संवतको नयाँ साल सुरु भएको छ । नयाँ साल नयाँ जोश, नयाँ उमंग, उत्साह बोकेर आउँछ भनिन्छ । नयाँ बर्षले नयाँ जोश जाँगर ल्याउनु पनि पर्दछ । जसै पुरानो पात झर्दछ, नयाँ पात पलाउँछ, त्यसैगरी नयाँ बर्षले हर कुरामा नयाँपन ल्याउनु पर्छ भन्ने मान्यता हो ।
पुराना प्राय शुष्क हुन्छन्, पुरानामा आलस्यता हुन्छ, जडता हुन्छ, रुग्ण हुन्छन् । प्राय पुराना बेरङ्गिला, बिरसिला हुन्छन् । नयाँमा ताजापन, नौलो कामप्रतिको कौतुलता, नयाँ गर्ने जिज्ञासा हुन्छ । त्यसैले पुरानामा भन्दा नयाँमा मान्छेको जोड देखिन्छ, नयाँको रोजाइ देखिन्छ ।
बिगत बर्षमा गोरखाका पालिकाहरुको प्रस्तुति सन्तोषप्रद नरहेको जनप्रतिनिधि नै महशुस गर्दछन् । पालिका भनेको संघीय संरचनाको सबैभन्दा प्रभावशाली इकाइ हो । जनजनमा पुग्ने, जनभावना, जनचाहनामा काम गर्ने इकाइ हो, गाउँगाउँमा सिँहदरबारको अनुभूत गराउने स्थानीय सरकार हो । तर गोरखाको सन्दर्भमा भन्नुपर्दा स्थानीय एकाधबाहेक स्थानीय तहले जनअपेक्षाअनुसार काम गरेको पाइएन ।
प्रायः पालिका नेतृत्वले बिगतका बर्षहरुमा आफ्नो पार्टी कार्यालय चलाएझैं पालिका चलाएको पाइयो । कार्यकर्ता केन्द्री अनुदान, ठेक्कापट्टा, पार्टीका विभिन्न व्यक्ति, व्यक्तित्वको नामका स्मारक, गेट निर्माण इत्यादि कामले प्राथमिकता पाए । दरबारजस्ता पालिका भवन, वडा भवन निर्माण आलोचनाको विषय बन्यो ।
बजेटको ठूलो आकार खाजा, खाना, भत्तामा खर्च, विकास निर्माण भन्दा तालिम, गोष्ठी, अनुगमन र भ्रमणमा खर्च हुनुले जनजनमा वितृष्णा जगायो । बेरुजुको चाङ घट्नुभन्दा झन झन बढ्यो । राजस्व संकलन गरेर ढुकुटी भर्ने भन्दा वितरणमुखी कार्यक्रम गरेर ढुकुटी दोहनमा बर्षौँ बित्यो । आगामि बर्ष यस्ता जनउपेक्षित कार्यक्रम न्यूनिकरण हुँदै जाउन् । सकारात्मक कामको चाङ लागुन् । आउँदा बर्षहरु सुखद बन्दै जाउन् ।




