| सोमवार, कार्तिक २३, २०८३

खोलखोलेको जग्गा संरक्षण गर, दोहन रोक

गोरखा बजारभित्रै पर्ने खोलखोलेको सार्वजनिक तथा निजी जग्गामा ठूलो परिमाणमा ढुंगा उत्खनन गरियो । बिगत तीनबर्षदेखि भीर खन्न सुरु गरिएको हो ।

त्यहाँका जग्गाधनीले आफ्नै लालपूर्जा भएको जग्गाको ढुंगा उत्खनन गर्न पाइन्छ भन्ने ठानी उत्खनन गरे । तर निजी जग्गाको ढुंगा उत्खनन गर्न पनि स्थानीय सरकारले निश्चित नियम कानून बनाएको हुन्छ । मापदण्ड हुन्छ । तर ती जग्गाधनीले नीति, नियमलाई खोस्टासरी मिल्काएर दोहन गरे । आफ्नो जग्गाभित्र मात्र नभै आसपासका सार्वजनिक जग्गाको पनि दोहन गरे ।

तीनबर्षपछि अहिले बल्ल नगरपालिकाले चासो लिएको छ । तर चासो दोहन जोगाउन होइन, व्यक्तिको सट्टा पालिका स्वयंले उत्खनन गर्न थाल्यो । स्थानीय सरकारले पनि आफूलाई चहिएको छ भन्दैमा जथाभावी दोहन गर्न कहाँ पाउँछ ? उसका लागि पनि निश्चित नियम, कानून हुन्छ । विधि, प्रक्रिया, सीमा हुन्छ । नियम, कानून कार्यान्वयन गराउने निकाय स्वयं पनि नियम कानूनमा कटिवद्ध हुनुपर्छ ।

यत्तिका दोहन गर्नु बद्मासी हो । दिनहुँ मेयर, उपमेयर हिड्ने बाटोमा यो ठाउँ पर्दछ । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख हिँड्ने बाटोमै पर्दछ । प्रमुख प्रशासकीय अधिकृत, इञ्जिनियर हिँड्ने बाटोमा पर्दछ । कसैले पनि यसका बारेमा खोजतलास नगर्नु अक्षम्य हो ।

एक सामाजिक अगुवाले सामाजिक सञ्चालमा लेखेपछि मात्र सबैको ध्यान गएको हो । यसले हाम्रा संयन्त्र कति जिम्मेवार रहेछन्, कति संवेदनशील रहेछन्, कति ‘प्रो एक्टिभ’ रहेछन् भन्ने प्रमाणित गर्दछ । अहिले पनि उत्खनन बन्देज लगाएर मात्र होइन, नियमअनुसार गर्नुपर्दछ । नगरपालिका स्वयंले उत्खनन गरेर लज्जा प्रदर्शन गर्नु हुदैन ।

प्रतिक्रिया दिनुहोस्