| सोमवार, कार्तिक २३, २०८३

यो प्रदुषणबाट कसरी बच्ने

अहिले देशभर प्रदूषण बढेको छ । लामो समयदेखिको अत्यधिक सुक्खापनले प्रदुषण बढेको हो । वायु प्रदूषणका कारण स्वास्थ्यमा विभिन्न जटिल समस्या देखिने गरेको पाइन्छ । हावापानी उत्तिकै प्रदुषित छ, त्यसमाथि जताततै सडक निर्माणको काम र अस्तव्यस्त सवारी साधनबाट निस्केको धुलोधुवाँ बुङ्बुङ्ती उँडिरहेको छ ।

वायु प्रदूषणका कारण भाइरल इन्फेक्सन, निमोनिया, एलर्जी र रुघाखोकीजस्ता समस्या देखा परेको छ । अहिलेको समयमा श्वासप्रश्वास र दमका बिरामीको संख्यासमेत बढेको पाइन्छ । पहिलेदेखि फोक्सोमा समस्या भएका बिरामीलाई सिकिस्त बनाएको छ । प्रदूषित वायुमा केमिकल र सल्फर अक्साइड ग्यास हुने भएकाले दमका बिरामीलाई अस्पतालमा भर्ना गर्नुपरेको छ ।

धेरैलाई छाती कस्सिएको जस्तो हुने, सास फेर्न गाह्रो हुने, चाँडै रुघाखोकी लाग्ने, नाक बन्द हुनेजस्ता लक्षण देखा परेको छ । कतिपयलाई ज्वरो आउने, घाँटी दुुख्ने, खोकी लाग्ने, नाकबाट पानी बग्नेजस्ता लक्षण देखा परेको छ । बालबालिका र वृद्धवृद्धालाई झन् छातीमा संक्रमण भई निमोनिया हुन्छ । प्रदूषणमा बुढाबुढीमा मौसमी रुघाखोकी (भाइरल इन्फ्लुएन्जा)को समस्या बढी देखिन सक्छ ।

लामो समय प्रदूषित वातावरणमा बस्दा दीर्घकालीन असरस्वरूप छातीमा संक्रमण भई क्रोनिक अस्ट्रटिज लङ डिजिजजस्ता निको नहुने रोग लाग्न सक्छ ।यस्तो अबस्थामा बिरामी भएपछि अस्पताल जानुभन्दा प्रदूषणबाट बच्नु सबैभन्दा बुद्धिमानी हो । त्यसैले धुलो–धुवाँबाट बच्न अनिवार्य रूपमा मास्क लगाएर हिँड्नुपर्छ । अफिस तथा जुनसुकै कार्यस्थलमा अनिवार्य मास्क लगाउने । परिवारमा कसैलाई रुघाकोखी लागेको छ भने उसको नजिक नजाने, संक्रमणबाट बच्न धेरै भिडभाडमा नजाने ।

बालबालिका र वृद्धवृद्धालाई झन् भिडभाडमा नलैजाने गर्नुपर्छ । त्यसैगरी खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ भने वरपरको वातावरण सधैँ सफा गर्नुपर्छ । कुनै पनि खालको स्वास्थ्य समस्या आयो भने अस्पताल गएर चेकजाँच गराई डाक्टरको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्