
कादुरीलाई फेरि पनि धन्यवाद
गोरखाका बिकट गाउँहरुमध्य चुमनुब्री ६ का गाउँबस्ती अग्रपंक्तीमा पर्दछ । भौगोलिक, आर्थिक, विकासका पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक चेतना आदिका दृष्टिले यहाँका बासिन्दा पछाडि पारिएका छन् ।
धेरै कोणबाट पछाडि पारिएका यस क्षेत्रको विकासका पूर्वाधार निर्माणमा कादुरी नामक संस्था बरदान सावित भएको छ । केही बर्षअघि मात्र यहाँ सो संस्थाले विद्युत उत्पादन गरेर सबै गाउँबस्तीमा विद्युत सेवा प्रदान गरेको थियो । तर थोरै समयमात्र विद्युत सेवा लिन पाएका गाउँलेलाई फेरि भेल, बाढी, पहिरोले संरचना बगाएर अन्धकारमा बस्न बाध्य बनायो ।
गत असोज १० र ११ गते आएको अविरल बर्षापछिको पहिरोले जलबिद्युत आयोजना क्षति पुगेपछि विगत ६ महिनादेखि अन्धकारमय बनेको उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेत लगायतका गाउँ अहिले फेरि झलमल बनेको छ । निर्माण गर्ने कादुरी नामक संस्थाले लघुजलबिद्युत मर्मत गरेपछि गाउँमा पुनः बिजुली बलेको हो ।
कादुरीले मर्मत गर्नुअघि गाउँलेहरु मिलेर जसोतसो मर्मत गरी कामचलाउ रुपमा विजुली बालेका त थिए, तर अस्थायी । असोजमा आएको पहिरोले पुनः जलबिद्युत बगाएपछि गाउँमा बिजुली अवरुद्ध बनेको र मर्मत पश्चात अहिले बिजुली बलेको हो ।
पहिरोले लघुजलबिद्युत आयोजना जगैदेखि बगाएको थियो । कादुरी एग्रिकल्चरल एण्ड एसोसिएसन ब्रिटिस गोर्खाजले आयोजना मर्मत गरी पुनः संचालनमा ल्याएको हो । आयोजनामा पुगेको क्षतिका कारण बिद्युत अवरुद्ध हुदाँ चुमनुव्री गाउँपालिका–६ को चुम्चेत, चुम्लिङ, सिप्चेत, खारोङ, ताज्यू, डुम्जे, रेञ्जम, घो, यार्चो र खारगुम्बा बस्तीका दुई सयभन्दा बढी घरधुरी अन्धकारमा बस्न बाध्य थिए ।
विद्युत नहुँदा बत्तीमात्र होइन, दैनिक छाक टार्ने अन्न कुटानी पिसानी समेत गर्न पाइएको थिएन । बिद्युत नहुदाँ मोवाइल चार्ज समेत गर्न नपाइएको उनको भनाइ छ । तर अहिले आयोजना मर्मत भएपछि गाउँ नै उज्यालो बनेको छ । त्यसैले कादुरी पुनः धन्यवादको पात्र छ ।




