| सोमवार, कार्तिक २३, २०८३

डढेलो नियन्त्रणमा भीमसेन थापाको प्रयास अनुशरणीय

वन डढेलो सबैको टाउको दुखाइको बिषय बन्दै आएको छ । यसको रोकथाम तथा नियन्त्रणका प्रयासहरु असफल बन्ने गरेका छन् । अहिले कतिपय वन क्षेत्रमा डढेलो लाग्ने गरेको हामीले सुन्दै र देख्दै आएका पनि छौ । यसको रोकथाम र नियन्त्रणका लागि बिशेष योजना र ठोस रणनीति आवश्यक छ ।

डढेलोका कारण वनजंगलको क्षति मात्र होइन वन्यजन्तुको पनि विनाश हुन्छ । यसको प्रत्यक्ष असर जलवायु परिवर्तनमा पनि देखिन्छ । वातावरण प्रदुषणमा पनि यसको प्रत्यक्ष प्रभाव देखिन्छ । हिजोआज आकाश धम्मिएर दिउँसै अध्यारो जस्तो हुने गर्छ । यसको प्रमुख कारणमध्ये डढेलो पनि एक हो ।

डढेलो नियन्त्रणका लागि एकल प्रयास असम्भव छ । सबैको एक्यवद्धता आवश्यक देखिन्छ । सचेतना जरुरी छ । तर बिडम्वना सचेत भनिएका केही व्यक्तिहरु आफै पनि डढेलो लगाउन अग्रसर भएको पाइन्छ । नयाँ पालुवा र घाँस पलाउने अन्धविश्वासमा डढेलो लगाउने प्रवृतिको अझै अन्त्य हुन सकेको छैन ।

डढेलो नियन्त्रणका लागि केही प्रयासहरु डिभिजन वन कार्यालय, स्थानीय तह लगायतका सम्बन्धित निकायहरुबाट भइरहेका छन् । बिभिन्न ठाउँमा सचेतना अभिवृद्धि गर्ने र डढेलो लागि हालेमा के कसरी नियन्त्रण गर्ने भनेर कृत्रिम अभ्यासहरु पनि भइरहेका छन् ।

भीमसेन थापा गाउँपालिकाले डढेलो नियन्त्रणका लागि ल्याएको पातपतिङ्गर संकलन कार्यक्रम अनुशरणीय नै देखिन्छ । वन क्षेत्रमा सुकेर बसेका पातपतिङ्गरबाटै डढेलो सल्कने हो । तीनै पातपतिङ्गरलाई आयआर्जनसँग जोडेर सुरक्षित ठाउँमा संकलन गर्ने कार्यक्रम डढेलो नियन्त्रणका लागि पक्कै फलदायी बन्ने छ ।

यस्ता नविनतम कार्यक्रमहरु ल्याउन स्थानीय तह र सम्बन्धित निकायहरुकावे ध्यान पुगोस् । गाउँगाउँमा सचेतना फैलाउनु पनि उत्तिकै जरुरी छ । साथमा डढेलो लगाउनेलाई कडा भन्दा कडा कारवाहीको व्यवस्था हुन सके यस्ता घटनाहरु न्यूनिकरण हुने थिए की !

प्रतिक्रिया दिनुहोस्