
केन्द्रीय प्रशारण लाइन बिस्तार गर
जिल्लाका कतिपय ग्रामिण भेगमा बिद्युतको केन्द्रीय प्रशारण लाइन पुगेको छैन । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकालाई त झन् केन्द्रिय प्रशारण लाइनले छुन समेत सकेको छैन जहाँ विद्युतका लागि जघुजलबिद्युतमा निर्भर पर्नुपर्ने बाध्यता छ । केन्द्रीय प्रशारण लाइन बिस्तारको कामले तिव्रता पाउनु जरुरी छ ।
कछुवा गतिमै भएपनि लाइन बिस्तारको काम भइरहेको छ । तर त्यही काममा पनि लापरवाही र ढिलासुस्ती देखिन्छ । कतै पोल अलपत्र छन् भने कतै तारको बिजोग बनाएर राखिएको छ । दुर्गमा भेगको कुरा त अलगै, लाप्राक, स्वाँरा लगायतका गाउँमा पनि केन्द्रीय प्रशारणको लाइन पु¥याउन बिद्युत प्राधिकरण हालसम्म असफल देखिएकै छ ।
जहाँ केन्द्रीय प्रशारणको लाइन बिस्तार भएको छैन त्यहाँका स्थानीयको समस्या छुट्टै छ । सामुदायिक बिद्युतिकरण र लघुजलबिद्युतबाट जसोतसो बिजुली त बल्छ तर बिभिन्न बिद्युतिय उपकरणहरु संचालनमा मुश्किल पर्छ, बिद्युत क्षमता अभावका कारण । उद्योग कलकारखानाहरु संचालन गर्ने कुरा त सोच्न पनि भएन ।
अर्काे लघुजलबिद्युत आयोजनामा बेलाबखत बिभिन्न समस्या आइरहन्छन् । मर्मतका लागि महिनौ लाग्न पनि सक्छ । त्यस अवस्थामा बिजुलीबाट पुरै बञ्चित हुनुपर्ने बाध्यता स्थानीयलाई हुन्छ । यी यावत समस्याहरु समाधानका लागि पनि केन्द्रीय प्रशारणको लाइन आवश्यक छ । लाइन बिस्तारको कामलाई प्राधिकरणले तिव्रता दिओस् र जिल्लाका सबै भेगमा केन्द्रीय प्रशारण लाइन पुगोस् ।




