
ठगीबाट जोगिन नागरिक सचेतना आवश्यक
जिल्लामा पछिल्लो समय ठगीका घटनाहरु बढ्न थालेका छन् । केही समययता आपराधिक क्रियाकलापमा संलग्नहरु सलवलाउन थालेको देखिन्छ । केही समय रोकिएको मोटरसाइकल चोरीका घटनाहरु पुनःदोहोरिन थालेका छन् । त्यतिमात्र होइन सुनचाँदीका गरगहना चोरी र ठगीको घटनाहरुले पनि उत्तिकै भइरहेको छ जिल्लामा । यसले जिल्लाको शान्ति सुरक्षामाथि नै प्रश्नचिन्ह उठाएको छ ।
चोरीका घटनाहरु पनि जिल्लामा भइरहेकै छन् । जिल्लाको शान्ति सुरक्षाको मापन गर्ने कडी त छैन तर चोरी र ठगी जस्ता अपराधिक क्रियाकलापहरु बढ्नुले शान्ति सुरक्षा फितलो भएको इंगित पक्कै गर्छ । अझ अर्काे संवेदनशील कुरा जिल्ला सदरमुकाम क्षेत्रबाटै धमाधम मोटरसाइल÷स्कुटर चोरी हुने र अलपत्र अवस्थामा भेटिने घटनाले प्रहरीलाई नै चुनौती दिइरहेको देखिन्छ ।
अपराधिक क्रियाकलाप नियन्त्रणका लागि बजार क्षेत्रमा जडान गरिएको सिसिटिभी ‘नामको मात्र’ छ । अधिकांश सिसिटिभी क्यामेरा बिग्रिएका छन् । संचालनमा रहेकाले पनि प्रष्ट दृष्य दिदैन । त्यसको सुधार र मर्मततर्फ पनि ध्यान जानु जरुरी छ ।
सुनचाँदीको गरगहना सरसफाइ गरेर चम्काई दिने भन्दै ठगी गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले केहीदिन अघि पक्राउ गरेको छ । यो प्रहरीको सफलता नै मान्नुपर्छ ।
तर यस्ता धेरै गिरोह छन् जुन जिल्लाका विशेष गरी ग्रामीण भेगमा पुगेर बिभिन्न खालका घटना घटाइरहेका छन् । भएका घटनाका दोषीलाई कडा कारबाही नहुने हुँदा थप घटना घटाउन उत्प्रेरित हुने गरेका छन् । उनीहरुलाई कडा भन्दा कडा कारवाहीको भागेदार बनाउन सक्नुपर्छ ।
साथै गहना बनाउने, चम्काउने भन्दै आउनेबाट नठगिन जनचेतना आवश्यक छ । नागरिक आफै पनि सचेत हुनु जरुरी छ । नागरिक आफै सचेत बन्न सके मात्र पनि ठगीका घटनाबाट जोगिन सक्छन् । त्यसैले नागरिक सचेतना आवश्यक देखिन्छ ।




