| सोमवार, कार्तिक २३, २०८३

समयमै निर्माण होस् फुटपाथ

ढिलै भएपनि गोरखा बजारमा व्यवस्थित फुटपाथ बन्दै छ । केही दिनअघि देखि काम पनि सुरु भइसक्यो । स्थानीय सरकार (गोरखा नगरपालिका) र संघिय सरकार (गोरखा सडक योनजा) को संयुक्त लगानीमा फुटपाथ निर्माणको काम अघि बढेको हो । ढिलै काम सुरु भएपनि यो कार्य स्वागतयोग्य नै छ ।

फुटपाथले बजार क्षेत्रको सुन्दरता मात्र बढाउदैन, सडक दुर्घटनाको जोखिमलाई पनि न्यूनिकरण गर्छ । व्यवस्थित फुटपाथका कारण अस्तव्यस्त बनेको बजार क्षेत्रको सडक अव भने व्यवस्थित हुने छ । फुटपाथसँगै दायावायाको सडक केही चौडा समेत हुने भएकाले सवारी आवागमनमा पनि यसले सहजता पु¥याउछ नै ।

फुटपाथ अतिक्रमण बजार क्षेत्रको प्रमुख समस्यामध्ये एक हो । अहिले पनि बजार क्षेत्रमा हेर्ने हो भने पैदलयात्रीले प्रयोग गर्ने फुटपाथ व्यापारीका सामाग्रीहरुले भरिएका देखिन्छन् । त्यसमाथि निर्माण सामग्रीका थुप्रो । अनि बजार यसै अस्तव्यस्त बन्छ ।
भलै बसपार्कदेखि शक्तिचोकसम्मको फुटपाथ अव व्यवस्थित हुने भएको छ । नयाँ बन्ने फुटपाथ व्यापारीको व्यापारिक थलो नबनोस् । पैदलयात्रीले सहज रुपमा हिडडुल गर्न सकुन् ।

नयाँ बन्न लागेको फुटपाथ अपाङ्गमैत्री होस् । अस्तव्यस्त देखिने हरमटारी क्षेत्रमा पनि छिट्टै फुटपाथ निर्माणको काम अघि बढोस् । अनि मात्र बजार क्षेत्रको सौन्दर्यता बढ्छ । गोरखा नगरपालिकाले घोषणा गरेको गोरखा भ्रमण बर्षमा आउने पर्यटकलाई अस्तव्यस्त बजारभन्दा फुटपाथसहितको व्यवस्थित बजार देखाउन सके यसको राम्रो प्रभाव पर्ने थियो । त्यसैले फुटपाथ निर्माण कार्यमा ढिलाई नगरौ ।

प्रतिक्रिया दिनुहोस्