
एक घर एक धारा अभियानले सार्थकता पाओस्
गण्डकी प्रदेशको एक घर एक धारा अभियान अन्तरगत अहिले जिल्लाका बिभिन्न स्थानीय तहमा खानेपानीका योजनाहरु संचालन भइरहेका छन् । कतिपय योजनाहरु सम्पन्न भइसकेका छन् भने केही कार्यान्वयनको चरणमा छन् । एक गाग्री पानीका लागि घण्टौ धाउनुपर्ने बाध्यतालाई यो अभियानले सहजिकरण गर्दै आएको छ ।
घरको आँगनमै धारा जडान गरेर खानेपानी उपभोग गर्ने अवसर पनि यही अभियानले दिलाएको हो भन्दा फरक नपर्ला ।खानेपानीका धेरै योजना बनिसके । थप योजनाहरु बन्दै छन् । तर अझै पनि खानेपानीका लागि दुख झेल्नु पर्ने बाध्यता पूर्ण रुपमा निस्तेज हुन सकेको अवस्था जिल्लामा देखिदैन । आवश्यकताको आधारमा योजना छनोट गर्न कतै कार्यालय चुकेको त छैन । यो पनि ख्याल गर्नुपर्ने बिषय हो ।
अर्काे कपितय योजनाहरु अलपत्र अवस्थामा पनि देखिन्छन् । कतै धाराका संरचना बनाएर मात्र राखिएका छन् भने कतै धारा जडान भएपनि पानी आएको छैन । उपभोक्ताको लापरवाही हो वा अन्य कुनै कारण, यतातर्फ पनि कार्यालयको नजर पुग्नुपर्छ ।
भलै कार्यालयले बिकट मानिने उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकादेखि सुगम मानिने नगरपालिकासम्मका स्थानीयलाई सहज रुपमा खानेपानी उपभोग गराइरहेको छ ।
बृहत खानेपानी आयोजना निर्माण गरेर चुमनुव्री गाउँपालिकाका सबै स्थानीयलाई पानी खुवाउने लक्ष्य लगभग पुरा हुदै छ । आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उत्तरी क्षेत्र मात्रै होइन जिल्लाका अन्य क्षेत्रमा पनि योजना निर्माणको काम त भइरहेका छन् । आवश्यकताको पहिचान गरी जिल्लाका केही स्थानमा थप योजना कार्यान्वयन गर्नुपर्ने अवस्था पनि देखिएको छ । त्यसतर्फ पनि कार्यालयको ध्यान पुगोस् ।




