| सोमवार, कार्तिक २३, २०८३

योजना समयमै कार्यान्वयन गर्ने परिपाटीको विकास होस्

ढिलै भएपनि घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकु सडक कालोपत्रेको काम सुरु भएको छ । बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र जोड्ने सडक समेत हो यो । अव यो सडकमा आउजाउ गर्दा स्थानीयले सास्ती भोग्नु पक्कै नपर्ला ।

उक्त सडकखण्डमा विगतका यात्राहरु निकै कष्टकर र जोखिमयुक्त थियो । बर्षाको समयको यात्राको त कुरै नगरौ । हिउँदमा धुलो बर्षामा हिलो, यस्तै छन् जिल्लाका अधिकांश ग्रामिण सडकहरु । स्तरोन्नतीका कामहरु त भइरहेका छन्, तर ठेकेदारकै लापरवाहीले यात्रामा अनावश्यक दुख र सास्ती खेप्न स्थानीय बाध्य छन् ।

भूकम्पपश्चात जिल्लाले बिकासमा फड्को मारेकै हो । भूकम्पअघि कालोपत्रे सडक मुश्किलले देख्न पाइन्थ्यो । ग्रामिण सडक कालोपत्रे हुन कुरा त कल्पनामा मात्र सिमिति हुन्थ्यो । तर भूकम्पले विनाशसँगै बिकासको अवसर पनि दिलायो । नसोचेका ग्रामिण सडकहरु कालोपत्रे भए । भौतिक संरचनाका स्वरुप बदलिए । गाउँगाउँमा पक्की संरचनाहरु देखिन थाले । बिकासले नसोचेको गति लियो ।

तर ठेकेदारकै कारण जिल्लाका केही बिकासे आयोजनाहरु अलपत्र अवस्थामा छन् । समयमै ती आयोजना सम्पन्न भएको भए जिल्लाको बिकासले झन् गति लिने थियो । गोरखा भ्रमण बर्ष मनाइरहँदा यस्ता अलपत्र योजनाहरु पनि पर्यटन प्रवद्र्धनका निम्ति वाधक बन्न सक्छन् । योजना समयमै कार्यान्वयन गराउन निर्माण कम्पनी जिम्मेवार हुुनु त पर्छ नै, नियमन निकाय पनि उति नै जिम्मेवार बन्नु आवश्यक हुन्छ ।

अनि मात्र समयमै योजना कार्यान्वयन हुने परिपाटीको बिकास हुने थियो की ?

प्रतिक्रिया दिनुहोस्