
लैंगिक हिंसा सम्बोधन सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न
जिल्लामा ‘लैङ्गिक हिंसा र यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको सम्बोधनमा बहुपक्षिय सेवा प्रदायकसँग अनुशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ । महिला, कानुन तथा विकास मञ्च (एफडव्लुएलडी)को आयोजनामा आइतबारबाट सुरु भएको कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
कार्यक्रमको अवसरमा विभिन्न सरोकारवाला निकायहरुलाई लैंगिकता, यौनिकता र लैंगिक हिंसाका बारेमा जानकारी गराइएको एफडव्लुएलडीकी प्रतिनिधि एवं अधिवक्ता बिनु लामाले बताइन् । यस्तै, विभिन्न प्रकारका लैङ्गिक हिंसाविरुद्धका कानुनहरुको विषयमा पनि कार्यक्रममा छलफल भएको उनले जानकारी दिइन् ।
‘कार्यक्रममार्फत लैङ्गिक हिंसा न्युनिकरणमा उहाँहरुको भुमिका के छ ? अभ्यास कस्तो भईरहेको छ ? र यस विषयमा के कस्ता कानुनी प्रावधानहरु छन् ? भन्ने विषयमा छलफल भएको थियो,’ उनले भनिन् । समाजमा हुने लैङ्गिक हिंसा न्युनिकरण गर्ने र हिंसामा परेकाहरुलाई सहजै न्यान दिन सक्ने वातावरण सिर्जना गर्ने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको लामाले बताइन् ।
अनुशिक्षण कार्यक्रममा सहभागिहरुलाई लैङ्गिक हिंसाका मुद्धाहरुमा न्यायिक दृष्टिकोण, लैङ्गिक हिंसा पीडितको अधिकार, राहत कोष र पीडितलाई क्षतिपूर्ति, एकद्धार संकट व्यवस्थापन केन्द्रमार्फत पीडितको स्वास्थ्य परिक्षण तथा लैङ्गिक हिंसाको जाहेरी, प्रमाणको सुरक्षा एवं साक्षी संरक्षणका विषयमा प्रशिक्षण गराइएको थियो ।
कार्यक्रममा एफडव्लुएलडीका कार्यकारी निर्देशक सबिन क्षेष्ठ, जिल्ला न्यायधिश शिव रानाभाट, जिल्ला न्यायधिवक्ता कर्मसिंह लामा, स्त्री तथा प्रसुती रोग विषेशज्ञ डाक्टर अन्जु थाया, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक सरोज कार्की लगायतले सहजिकरण गरेका थिए । प्रहरी, संचारकर्मी, न्ययिक सहजकर्ता, मनोसामाजिक परामर्शदाता, चिकित्सक, कानुनी व्यवसायीहरु जस्ता सरोकारवाला निकायहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।




