
काम नगर्नेलाई सचेत गर्न आनाकानी नगर
काम नगर्नेलाई दण्डित र काम गर्नेलाई पुरस्कृत गर्ने परिपाटीले राम्रै संस्कार बस्छ । निर्धारित समयमा काम सक्नेहरु असल व्यवसायी हुन् । निर्धारित समयमा काम नगरी देश र देशबासीलाई हैरान पर्नेहरु कामचोर हुन्, यिनलाई दण्डित गर्न खुट्टा कमाउनु हुदैन ।
एकठाउँको काम जिम्मा लिने, त्यो अलपत्र पारेर फेरि अर्को ठाउँमा लिने, त्यो पनि अलपत्र पारी फेरि अर्को ठाउँमा हात हाल्ने यस्ता कामचोरलाई काम थप्ने होइन, दिएको ठेक्का पनि रद्द गर्ने तागत राख्नुपर्छ अनि मात्र काम अलपत्र पार्ने नजिर बन्द हुन्छ । राज्यको विकास निर्माणमा खेलवाड गर्ने अधिकार कसैलाई छैन ।
बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत सोतीखोलामा ठेक्का सम्झौता भएको १० बर्षपछि बल्लतल्ल काम सम्पन्न भयो । सोतीभन्दा वरको अजुवाखोला पुलको अविगत झण्डैझण्डै त्यस्तै रह्यो । अहिले बल्लतल्ल सम्पन्न हुने चरणमा छ ।
सोही सडकको नौलीखोला मोटरेबल पुलको अबस्था त्यस्तो नहोस् भन्ने चाहना हो ।
अहिले म्याद सकिएको आठ महिना कटेको छ, तर पुलको जीप बाहेक केही निर्माण भएको छैन । कार्यान्वयन गर्ने कार्यालयका अनुसार गत साउनमा निर्माण सम्पन्न गर्नुपर्ने सो पुल अहिलेसम्म जम्मा ५० प्रतिशत मात्र काम भएको छ ।
सूर्योदय कन्स्ट्रक्सनले चार करोड ३५ लाख लागतमा डेढबर्षभित्र निर्माण सम्पन्न गर्नेगरी सो पुल निर्माणको काम २०७९ मा ठेक्का सम्झौता गरेको थियो । तर समयमा सम्पन्न नभएपछि आउँदो असारसम्म सम्पन्न गर्नेगरी म्याद थप गरिएको छ । हाल पुलको स्ल्याव ढलानको तयारी भइरहेको छ ।
सो पुलको ३५ मिटर लम्बाइ, र ८.४० मिटर चौडाइ रहेको छ । सडक नेपाली सेनाले निर्माण गरेको हो, पुल भने पूर्वाधार कार्यालयले बनाउन लागेको हो । नौलीखोलामा प्रिस्ट्रेस प्रविधिको पुल निर्माण गर्न लागिएका हो ।




