
पूर्वराजाको भ्रमणले उब्जाएको बहश
गत शनिबार चैत्र कृष्ण अष्टमी, गोरखकाली पूजाको पर्व पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली, गोरखनाथको पूजाआजा गरे । गोरखा दरबारको अवलोकन गरे । आइतबार बिहान मनकामना माताको पूजा अर्चना गरे । पूजाअर्चना सकेर स्थानीयबासीको स्वागत एवं ज्ञापन पत्र ग्रहण गरे ।
गोरखा भ्रमण गर्न पूर्वराजा शाह एक्लै गोरखा आएका थिए । गोरखा दरबारदेखि गोरखा बजारसम्म उनी स्वयंले आफू सवार गाडी चलाएका थिए । उनको स्वागतका लागि यहाँका १५१ सदस्यीय नागरिक समाज गठन गरिएको थियो । राजसंस्था, राजतन्त्र, हिन्दूधर्मका पक्षधरले आँबुखैरेनीदेखि गोरखासम्म मोटरसाइकल ¥याली गरेका थिए ।
पञ्चैबाजा बजाइएको थियो । उनको स्वागतार्थ आँबुखैरेनीदेखि गोरखा दरबारसम्मका विभिन्न घरहरुमा, टोलहरुमा स्वागतद्वार बनाइएका थिए, घडा राखिएका थिए । स्थानीयहरु लामवद्ध भएर पुष्पगुच्छा अर्पण गरेका थिए । हिन्दू राष्ट्र, राजसंस्था, राजतन्त्र तथा देशभक्तिका विभिन्न नारा लगाएर शाहको स्वागत गरेका थिए ।
शाहको भ्रमण धार्मिक उद्देश्यले गरिएको थियो । गोरखकाली पूजाको पर्व पारेर पूजाआजा गर्ने शिवाय पूर्वराजाको अन्य कार्यक्रम थिएन, तर राजसंस्था, राजतन्त्र पक्षधरले यही अवसर पारेर ‘राजा आऊ, देश बचाऊ’ भन्ने आवाज गुञ्जाए । राजतन्त्रको पक्षमा जनसागर छ भन्ने वातावरण सिर्जना गर्ने मौका छोपे ।
विश्लेषकहरुका अनुसार नेपालको संविधान, नेपालको लोकतान्त्रिक गणतन्त्र, धार्मिक निरपेक्षतालाई स्वीकार नगरेका देशी, विदेशी शक्तिहरुले पनि अहिले राजसंस्था वा राजतन्त्र र हिन्दूराज्य वा हिन्दूअधिराज्यको पक्षमा वातावरण बनाउन पहल गरिरहेका छन् ।
राजा स्वयं राजतन्त्र वा राजसंस्था स्थापनाका बारेमा आवाज उठाएको अबस्था छैन, तर उनका पक्षशक्ति दिलोज्यानले राजसंस्था वा राजतन्त्रको पक्षमा आवाज बुलन्द गरिरहेका छन् । यो मौसमी हो कि, बेमौसमी हो समयले प्रमाणित गर्नेछ ।




