
साहस उर्जाको आशालाग्दो काम
एउटा नेपाली उखान छ, ‘तँ आउँदा मोही पाइनस्, कमारी पठाइदे दही दिउँला ।’ १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको सन्दर्भमा यही अबस्था छ । सानो आयोजना बनाउन नसक्ने सरकार १२०० मेगावाटचाहिँ बनाउँछु भन्छ ।
यसलाई अर्को उखानसंग पनि तादात्म्य मिलाउन सकिन्छ, ‘नमच्चिने पिङको सय झड्का । अर्थात नबर्सने मेघ गर्जिन्छ ।’ इत्यादि । धेरै कम्पनीले झोलामा खोला बोकेर हिँडिरहेका छन् । सरकार पनि बुढीगण्डकी आयोजनाको रित्तो झोला बोकेर हिँडिरहेको छ ।
तर साहस उर्जाले निर्माण गर्न लागेको बूढीगण्डकी जलविद्युत आयोजना(३४१ मे.वा.) को काम भने आशा लाग्दो गतिमा अघि बढिरहेको छ । यसले चुमनुब्री गाउँपालिका ३ को सल्लेरी र जगत बीचमा बाँध बाँधी करिब सात किलोमिटर सुरुङे नहरबाट बूढीगण्डकीको पानी लगेर तातोपानीनेर पावरहाउस बनाई खसाल्ने योजना बनाएको छ ।
आयोजनाले सामाजिक उत्तरदायित्व कोषबाट खोर्लाबेशीमा बेलिब्रिज बनाउन काम थालेको छ । बुधबार पुलको शिलान्यास भइसकेको छ । अब केही दिनभित्र काम सुरु गरी पाँच करोड रुपैयाँ लागतमा आउँदो असारअघि नै पुल बनाइसक्ने आयोजनाको लक्ष्य छ ।
आयोजनाको सामान ढुवानी गर्नुपर्ने हुँदा पुल उसका लागि पनि खाँचो छ, अरु सर्वसाधारणका लागि पनि । साथै बर्खाका बेला गइरहने पहिरो हटाई नियमित सवारी साधन चल्ने बनाउन आयोजनाले विशेष रणनीति बनाएको छ । सो आयोजनाले बाँध क्षेत्रको जग्गाको मुआव्जा दिने प्रक्रिया पनि सुरु गरेको छ ।
निजी र सार्वजनिक गरी करिब १७०० रोपनी जग्गा आयोजनालाई खाँचो छ । त्यसमध्य केही निजी, केही सार्वजनिक जग्गा रहेका छन् । अधिग्रहण गर्नुपर्ने निजी जग्गाको मुआव्जा स्थानीयसंगको समझदारीमा निर्धारण भएको छ । अब निर्माणको काम पनि अघि बढोस्, शुभकामना ।




