
हरेस नखानू, सके जितिन्छ, नसके सिकिन्छ
शैक्षिक स्थलमा राजनीति गर्नु हुँदैन भन्ने मत पनि धेरै नै पाइन्छ । विद्यार्थीको मुख्य लक्ष्य पढ्नु, उच्च गुणस्तरको शैक्षिक जनशक्ति तयार हुनु हो भनिन्छ । प्रयुक्त कथन एक हदसम्म ठिकै पनि हो ।
तर विद्यार्थी जीवन भनेको भविष्यका अपार सम्भावनाहरुको पृष्ठभूमि पनि हो । रोजगार बन्ने, स्वरोजगार गर्ने, अध्ययन, अनुसन्धान गर्ने, राजनीति गर्ने, नेता, अभिनेता, राजनेता, कलाकारिता गर्ने, खेलाडी, सिपाही बन्ने सबैखाले जनशक्ति तयार गर्ने प्लेटफर्म विद्यालय, विश्वविद्यालय नै हो ।
भोलिका देशका संवाहक राजनेताको प्रारुप तयार गर्ने ठाउँ पनि विद्यालय, विश्वविद्यालय हो, तसर्थ बालबालिकामा राजनीतिक चेतको बिजारोपण गर्नु अस्वभाविक होइन, अपरिहार्यता हो । हालसालै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजहरुमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन सम्पन्न भयो । केहीमा चुनाव हुन सकेन । जुनजुनमा निर्वाचन भयो, सबैले विद्यार्थी प्रतिनिधि प्राप्त गरेको छ ।
विद्यार्थीहरुले पनि राजनीतिक खेल–चलखेल, निर्वाचन प्रक्रियाको आधारभूत ज्ञान र सीप हाँसिल गरेका छन् । जसलाई राजनीतिक चेत छैन, रुचि पनि छैन, उनीहरुले पनि मतदान गरेर राजनीतिक क्रियाकलापमा सहभागिता जनाएका छन् । निर्वाचन लोकतन्त्रको गहन गहना हो । हारजीत त एउटा सिकाइ हो । सके जितिन्छ, नसके सिकिन्छ ।
मुलुकका लागि राजनीति गर्ने नयाँ पुस्ताको खाँचो छ । अहिले नयाँ पुस्तामा राजनीतिप्रतिको मोह कम हुँदै गएको अवस्था हो । राजनीति गर्ने नयाँ पुस्ताको अभाव भयो भने भोलिका दिनमा मुलुक हाँक्ने जनशक्तिको अभाव हुनेछ । त्यसैले नयाँ पुस्तालाई राजनीतिप्रति रुचि जगाउन अभिप्रेरित गर्नुपर्दछ । राजनीति गर्न चाहने नयाँ पिँडीले राजनीतिक कखरा सिक्ने थलो क्याम्पस, कलेज हो ।
स्ववियू चुनावमा भाग लिनु तथा स्ववियूमा रहेर काम गर्नु राजनीतिक जीवनको रिहलर्सल हो । यसमा विद्यार्थीहरुलाई असल अभ्यास गर्न सिकाउनु पर्दछ ।




