
बजार अनुगमनको उपलब्धी खै
आज बजार अनुगमनले तिव्रता पाएको जस्तै देखिन्छ । केही सिमित पसलहरुमा भएपनि अनुगमन समिति पुग्न भ्याएकै छ, अनुगमनको नाममा । बजार केन्द्रित मात्र अनुगमन हुन थाल्यो भन्ने गुनासो सम्बोधनका लागि कहिलेकाही ग्रामिण क्षेत्रका बजारमा पनि समितिको उपस्थिती यदाकता देखिन थालेको छ । तर बाह्र बर्ष कुकुरको पुच्छर ढुंग्रोमा राखेपनि उस्तै भने झै जति बजार अनुगमन गरेपनि बजारमा देखिएको वेथिति अन्त्य हुन सकेको छैन ।
मुख्य बजारकै सडक छेउका मसला तथा किराना पसलहरुमा अखाद्य चुक अमिलो तथा घिउ छ्यापछ्याप्ति बेच्न राखिएको छ । अखाद्य पदार्थ मिसावट भएको भनेर अन्य जिल्लाहरुमा प्रतिबन्धित चुक अमिलो र घिउको नाउँमा अखाद्य सामाग्रीहरु खुलेआम बिक्री वितरण भइरहेको छ ।
चितवनबाट उत्पादीत ती सामग्रीहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अखाद्य भनेर अन्य जिल्लामा बिक्री वितरणमा रोक समेत लगाइसकेको छ । तर जिल्लामा भने खुलेआम रुपमा ती अखाद्य पदार्थ बिक्री वितरण हुनुमा अनुगमन समितिकै कमजोरी हो ।
हुन त यसअघि पनि अनुगमन समितिले भेटिएका त्यस्ता केही अखाद्य पदार्थ नष्ट गर्दै आगामी दिनमा नबेच्न निर्देशन दिएको थियो । तर प्रशासनलाई केही व्यापारी व्यवसायीहरुल अटेर गरिरहेका छन् । उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने अधिकारी कसैलाई छैन । त्यस्ता व्यापारीलाई हदैसम्मको कारवाही हुनुपर्छ । होइन भने अनुगमनको नामका लागि हुने अनुगमनको कुनै अर्थ छैन ।
हुन त अहिले प्रशासनदेखि पालिकासम्मका आफ्नै अनुगमन समिति छन् । यी सबैका काम बजार अनुगमन गर्ने र कालोबजारी र अखाद्य पदार्थलाई नियन्त्रण गर्ने नै हो । तर यी समितिहरु बीच पनि आपसमा समन्वय भएको देखिदैन । एक आपसमा समन्वय र सहकार्य गर्दै अनुगमनसँगै कारवाहीमा पनि कडाई गर्न सके मात्र बजारको वेथिती अन्त्य हुन्छ । बल्ल बजार अनुगमनको उपलब्धी देखिन्छ ।




