
विद्यार्थी नेताहरुलाई भड्किने होइन, झ्याम्मिने वातावरणको खाँचो
त्रिभुवन विश्वविद्यालयअन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त सबै कलेजहरुमा स्ववियू निर्वाचनको माहोल छ । विश्वविद्यालयले तय गरेको कार्यक्रम अनुसार मंगलबार उम्मेद्वारी दर्ता, बुधबार दाबी बिरोध र बिहिबार अन्तिम नामावली प्रकाशन हुदैछ ।
कार्यतालिका अनुसार आंगिक, पब्लिक, प्राइभेट कलेजहरुले निर्वाचन प्रक्रिया अघि बढाइरहेका छन् । विद्यार्थी तप्कामा चुनाबी सरगर्मी बढिरहेको छ ।
गोरखाको सन्दर्भमा कुरा गर्दा, यहाँ विभिन्न विद्यार्थी संगठनहरु मिलेर दुई प्यानल बनाई चुनाब लड्दैछन् । माओवादी भातृ संगठन अखिल(क्रान्तिकारी)को नेतृत्वमा नेकपा एसको भातृ संगठन अनेरास्ववियू र विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल(समाजवादी) मिलेर एउटा प्यानल बनाएका छन् ।
त्यस्तै कांग्रेस भातृ संगठन नेविसंघको नेतृत्वमा एमालेको भातृ संगठन अनेरास्ववियु मिलेर अर्को प्यानल निर्माण गरेका छन् ।
गोरखाका चार क्याम्पसमध्य गोरखा क्याम्पस र द्रव्यशाह बहुमुखी क्याम्पसमा मात्र स्ववियू निर्वाचन हुँदैछ । आरुघाटस्थित भीमोदय क्याम्पस र पालुङ्टारस्थित भवानी क्याम्पसमा भने प्राविधिक कारणवश स्ववियू निर्वाचन स्थगित भएको छ ।
गोरखा क्याम्पस र द्रव्यशाह क्याम्पसमा दुई प्यानल बीच कडा चुनाबी टक्कर हुँदैछ । गोरखा क्याम्पसमा नेविसंघका रचन परियार र अखिल क्रान्तिकारीका सुलभ अम्गाई सभापति पदमा चुनाब लड्दैछन् । दुवै प्यानल घनिभूत रुपमा चुनाबी मैदानमा उत्रिएकाले कसको पल्लाभारी होला भनेर यसै अनुमान गर्न कठिन छ । चुनाब भनेपछि माहोल तात्तिनु अस्वभाविक होइन, तर वातावरण तनाबी हुनुहुँदैन ।
अहिले नयाँ पुस्तामा राजनीतिकप्रति रुचि, चासो कम हुदै गएको अबस्था छ । भोलि राजनेता हुनेहरु भनेका अहिलेका विद्यार्थी राजनीतिमा लाग्नेहरु नै हुन् । त्यसैले उनीहरुलाई असल राजनीतिक संस्कारको खाँचो छ । त्यसैले मातृ पार्टीहरुले विद्यार्थी संगठनबाट राजनीति गर्न सुरु गरेकालाई भड्काउने खालको नभै रम्ने खालको असल संस्कार दिएर मलजल गर्नु आवश्यक छ ।




