| सोमवार, कार्तिक २३, २०८३

पूर्णिमाले सिकाएको पाठ

कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ नेपालको सर्वाधिक लोकप्रिय अनलाइन पोर्टल ‘अनलाइन खबर’को उत्कृष्ट ५० महिलाभित्र छनौट हुन सफल भएकी छिन् ।

उमेरले ३० को वरिपरि रहेकी पूर्णिमाले एकबर्ष अघिको वैशाख महिनामा १३ दिनको अन्तरालमा तीनपटक सगरमाथाको शिखर चुमिन् । यसले आरोहणको क्षेत्रमा नयाँ कीर्तिमान कायम ग¥यो । सगरमाथा आरोहणका क्रममा विभिन्न शीर्षकमा कीर्तिमान कायम गरिरहेका हुन्छन्, तथापि यत्ति छोटो अवधिमा महिला आरोहीले तीन पटक आरोहण गर्ने काम चानेचुने होइन । यसका लागि श्रेष्ठ उच्च प्रसंसाकी पात्र हुन् ।

गोरखा आरुघाट(आरुटार)को औसत परिवारमा जन्मेकी उनले एकाएक हिमाल आरोहणको निर्णय लिइन् र पहिलै प्रयासमा सगरमाथा आरोहण गर्न सफल भइन् । त्यसयता आठहजार मिटरभन्दा अग्ला केटुबाहेक प्राय सबै हिमाल आरोहण गरिसकिन् ।
उनको साहसिक यात्रा ज्यादै लोभलाग्दो र प्रेरणादायी छ । फोटो पत्रकारिता गरेर सामान्य जीवन गुजारिरहेकी उनको जीवनले जब साहसिक मोड लियो, त्यसछिको उनको जीवन पनि प्रेरणादायी छ ।

अहिले उनी विभिन्न कार्यक्रमहरुमा मोटिभेशनल प्रवचन दिने गर्छिन् । अनुभवले सिकाएको सफलताको पाठ सिकाउँछिन् । महिला भएकै कारण दया, माया, करुणाको पात्र हुनु हुदैन । महिलाहरु सँधै रचनात्मक काममा अघि बढ्नु पर्दछ । साहसिक निर्णय लिन सक्नुपर्छ । आफ्नो अठोट पूरा गर्न हररात दिन लागि पर्नुपर्दछ भन्ने उनको अनुभवजनित शिक्षा हुने गर्छ ।

महिला सोकेशमा सजाउने काँचको पुतली होइन, पुरुषले गर्न सक्ने हर काममा महिला पनि सक्षम हुन्छन् भन्ने उनको सन्देश हुने गर्दछ । पूर्णिमा श्रेष्ठ गोरखाको गौरव त हुँदै हुन्, नेपालकै एक साहसिक नारी हुन् । उनको जीवनले हर नारीलाई नयाँ नयाँ, साहसिक कार्य गर्न प्रेरणा दिइरहन्छ, पाठ सिकाइरहन्छ ।

प्रतिक्रिया दिनुहोस्