| सोमवार, कार्तिक २३, २०८३

असल अभ्यास आदान प्रदान कार्यक्रमको बहुआयामिक महत्व

असल अभ्यास आदान प्रदान कार्यक्रम सबैका लागि महत्वपूर्ण छ । समान कार्य सम्पादन गर्ने विभिन्न जिल्लाका सरकारी कार्यालयहरुका लागि पनि असल अभ्यास आदान प्रदान कार्यक्रम गर्नु आवश्यक छ । समान उद्देश्यका लागि विभिन्न जिल्लाहरुमा वा विभिन्न भौगोलिक अवस्थितिमा रहेका ठाउँहरुका सामाजिक संघसंस्थाहरुका लागि पनि यो आवश्यक छ ।

स्थानीय सरकारको हैसियत पाएका पालिकाहरुका लागि झन् यस्तो कार्यक्रम धेरै महत्वपूर्ण हुन्छ ।त्यसैले केही समय यता विभिन्न जिल्लाका पालिकाहरु बीच असल अभ्यास आदान प्रदानका कार्यक्रम बेलाबेला हुन थालेका छन् । हालसालै मात्र गोरखा नगरपालिका र देवघाट गाउँपालिका बीच असल अभ्यास आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

गोरखा नगरपालिकाले पनि आफ्ना असल अभ्यासहरु देवघाट गाउँपालिका समक्ष प्रस्तुत गरेको छ भने देवघाटले पनि गोरखा सामु आफ्ना असल अभ्यासहरु प्रस्तुत गरे । अहिले धेरै पालिकाहरु बीच पनि असल अभ्यास आदानप्रदान(अनुभव सेयरिङ) कार्यक्रम हुने गरेका छन् ।

असल अभ्यास आदान प्रदान गर्ने कार्यक्रम जतिसक्दो धेरै गरिहनु आवश्यक छ । यो एउटा यस्तो कार्यक्रम हो, जसले पालिकाहरुलाई धेरैभन्दा धेरै असल अभ्यास गर्न नैतिक दबाब दिन्छ । कसले के अभ्यास गरेको छ, त्यो कति गुणस्तरीय कार्यक्रम हो, कति उत्पादक वा प्रत्युत्पादक कार्यक्रम हो भनेर सबले कसी लगाउँछन् र अनुसरण गर्ने कि नगर्ने समीक्षा गर्छन् ।

धेरै असल अभ्यास गर्ने पालिकाको साख बढ्छ । कम असल अभ्यास गर्ने पालिकालाई धेरै असल अभ्यास गर्ने नैतिक दबाब सिर्जना हुन्छ । अनि खराब अभ्यास भएको रहेछ भने त्यो न्युनिकरण वा अन्त्य पनि हुनसक्छ । तसर्थ असल अभ्यास आदान प्रदान कार्यक्रमको बहुआयामिक महत्व छ ।

प्रतिक्रिया दिनुहोस्