| सोमवार, कार्तिक २३, २०८३

गाउँ गुल्जार गर्ने नीति बनाऊ

गाउँ रित्तिदै गरेको ज्वलन्त उदाहरण गोरखा सदरमुकाम नजिकैको साबिक बक्राङ गाविसका गाउँहरु हेरे पुग्छ । हालको सहिद लखन गाउँपालिकाको पुरानो गाउँको उदाहरण हेरुँ, जहाँ ३६ वटा घरधुरी छन् । तर जनसंख्या जम्मा ३० मात्र छ । अर्थात, घरसंख्याभन्दा जनसंख्या कम छ ।

यस्तै, सोही गाउँपालिकाको सानो दिप्लिङ र ठूलो दिप्लिङको अवस्था त अझ नाजुक छ । जहाँ युवायुवतीमात्र होइन, बालबालिका पनि देख्न पाइँदैन । बालबालिका नभएका देख्न नपाइएको होइन, सबै जना गाउँ नजिकको सहरमा पढ्न बसेका छन्  । गाउँका युवा जति विदेश छन्  । महिलाहरू छोराछोरी पढाउन सहरमा डेरा लिएर बसेका छन् । गाउँमा छन् त केवल वृद्धवृद्धामात्रै । यी गाउँ त केही उदाहरण मात्रै हुन् । आज हरेक गाउँ रित्तिँदै गएका छन् ।

जन्ती र मलामी पाउनै गाह्रो भइरहेको छ । वृद्धवृद्धाले गाउँ धानेका छन् । कुनै बेला गाउँ यस्ता थिए– बालबालिका, युवायुवती र वृद्धवृद्धाले भरिभराउ हुन्थे । अर्मपर्मले दैनिकी चल्थ्यो । सुख, दुःख साँटासाँट हुन्थे । कुनै भोजभतेर वा चाडवाड आयो कि, गाउँको रौनक अर्कै हुन्थ्यो ।

ठूलाको सम्मान, सानालाई माया, गाउँले जीवन नै बेग्लै हुन्थ्यो । तर, आज गाउँगाउँ जस्ता रहेनन् । कोही दुःखी बिरामी भए, अस्पतालसम्म लगिदिने कोही छैनन् । जन्ती जानेको पनि अभाव, मलामी जानेको पनि अभाव । दुःख परे, सुनिदिने/सहयोग गरिदिने कोही छैन । बाहिरबाट घरै घर देखिन्छन्, तर बस्ने मान्छे छैनन्, गाउँ रित्ता र सुनसान छन् ।

त्यसैले गाउँमा अब भौतिक विकास मात्र होइन, त्यससँगै रोजगारी र अवसर सिर्जना गर्नुपर्छ । गाउँमा बस्नेलाई हेयको दृष्टिकोणले होइन, अवसर दिनुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर गाउँमै सर्वसुलभ र प्रभावकारी बनाउन सके गाउँ फेरि हराभरा बन्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्