
स्वदेशमै धेरै गर्न सकिन्छ भन्ने उदाहरण कैँजेल माहुरी फर्म
‘नेपालमा काम गर्ने वातावरण नै छैन’ भनेर विदेश हानिनेहरुका लागि स्वदेशमै धेरै गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, ‘कैँजेल माहुरी फर्म ।’ सहिद लखन गाउँपालिका ८ बराहफाँटका सुमन खड्काले ठूलो परिमाणमा माहुरी फर्म सञ्चालन गरेर नमूना व्यवसायी बनेका हुन् ।
अहिले उनले १४० वटा घारमा सेरेना जातको मौरी पालन गरेका छन् । रानी ग्राफ्टिङ, घार र मौरी सामग्री(टोपी, स्मोकर) निर्माणको काम पनि आफै गर्छन् । मौरी पालनसम्बन्धी विभिन्न तालिम लिएका उनी प्रशिक्षकको रुपमा पनि दक्ष भइसकेका छन् ।
अहिले उनी एकै दिन सयौं घार मौरी बेच्ने क्षमतामा पुगिसकेका छन् । विभिन्न पालिकाहरुले किसानहरुलाई मौरी र घार वितरण गर्छ । त्यहाँ उनी सप्लाई गर्ने गर्छन् । उनी घार मात्र पनि बेच्छन्, मौरी मात्र पनि बेच्छन्, घारसहितको मौरी पनि बेच्छन्, मह पनि बेच्छन् ।
जताततैबाट माग बढ्न थालेपछि अहिले खड्काको व्यस्तता बढेको छ । स्वदेशबाट मात्र होइन बिदेशबाट पनि माग आउन थालेको छ । व्यवसायिक हुटहुटीले उनलाई सफल मौरी व्यवसायी बनाएको छ । वैदेशिक रोजगारीको सपना उनले पनि नदेखेका होइनन् । दुबई प्रहरीका लागि प्रक्रिया अघि बढाइरहेका बेला उनी सवारी दुर्घटनामा परे । अब उताको बाटो बन्द भयो अनि दुग्ध व्यवसाय गर्न १८ वटासम्म माउ भैसी पालेका थिए । त्यसपछि उनी मौरीपालनतर्फ मोडिएका थिए ।
अहिले उनले मौरीपालनमा अपार सफलता हाँसिल गरेका छन् । सफलताले उनलाई थप अगाडि बढ्न हौसला दिइरहेको छ । उत्पादित मौरी, मह, घारका लागि बजारको कुनै समस्या छैन । बरु माग पु¥याउन हम्मेहम्मे छ । त्यति मात्र होइन, उनको फर्म अवलोकन गर्न आउनेहरुलाई प्रशिक्षण दिनमा पनि ब्यस्त छन् । उनको सफलताले इच्छाशक्ति भयो भने नेपालमा पनि प्रसस्तै गर्न सकिन्छ भन्ने सन्देश दिन्छ ।




