
आधारभूत अस्पताल सञ्चालनमा तिब्रताको खाँचो
गोरखा नगरपालिका १२ (एघारकिलो)स्थित तारानगर स्वास्थ्यचौकीमा चिकित्सकीय सेवा सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्यचौकीको चिकित्सकीय सेवाको उद्घाटन गरेका हुन् ।
अबदेखि तारानगर स्वास्थ्यचौकीमा मेडिकल अफिसर(डाक्टर)ले बिरामी चेकजाँच गरेर औषधी दिने भएका छन् । यसअघि स्वास्थ्य सहायक, अहेब, अनमिले सेवा दिइरहेको सो स्वास्थ्यचौकीबाट अब डाक्टरले नै सेवा दिने भएका छन् ।
समय विस्तारै विकास हुदै गइरहेको छ । पूर्वाधार विकास हुदैछ । शिक्षा, स्वास्थ्य, सूचना प्रविधि आदि पूर्वाधारको पनि विकास भइरहेको छ । बिगतको तुलनामा शान्ति सुरक्षा पनि सुदृढ हुदैछ । चेतनास्तर अभिवृद्धि भइरहेकै छ । विश्वका अरु मुलुकका तुलनामा सयौं बर्ष पछाडि पर्नुको दुखद पक्ष छँदैछ ।
जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ भनेझै नेपालको अहिलेको अवस्थालाई एकतर्फबाट विश्लेषण गर्दा सकारात्मक रुपमै लिन सकिन्छ । अर्को तथ्य नभेटियुञ्जेलका लागि स्वास्थ्यचौकीमै चिकित्सकले नियमित सेवा दिने कार्यक्रम नेपालमै प्रथम हुनसक्छ । यो सत्प्रयासका लागि गोरखा नगरपालिकाको पहल सह्रानीय छ । यो कार्यक्रम नागरिकका पक्षमा अति महत्वपूर्ण छ ।
सरकारले हरेक पालिकामा आधारभूत अस्पताल बनाउने घोषणा गरेअनुरुप गोरखाका केही पालिकामा निर्माण सम्पन्न भइसकेका छन्, कुनैको निर्माणको चरणमा छन् । कुनैको यसपटक बजेट बिनियोजन गरिएको छ । बाँकी पालिकाहरुले पनि यथासक्य छिटो आधारभूत अस्पताल निर्माणको काम सम्पन्न गरुन् ।
औजार, उपकरण, औषधीले भरिभराउ बनाउन् । अनि ग्रामीण भेगका सर्वसाधारण बिरामीलाई छिटोभन्दा छिटो उच्च गुणस्तरीय सेवा प्रदान गरुन् । ग्रामीण भेगका नागरिकका लागि सरकारले दिएको सेवा पालिकामा बिभिन्न स्वार्थसमूहको बाधा, ब्यबधानका कारण ढिलाइ गर्नु मनासिब छैन ।




