
मगर कर्मकाण्ड सम्बन्धी प्रशिक्षण सुरु
गोरखा नगरपालिकाभित्र बसोवास गर्ने मगर समुदायलाई लक्षित गरी ‘मगर कर्मकाण्ड सम्बन्धी वापा/मापा प्रशिक्षण’ कार्यक्रम सुरु गरिएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग र नेपाल मगर बुद्ध सेवा समाजको आयोजनामा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
पाँच दिनसम्म संचालन हुने उक्त प्रशिक्षण कार्यक्रमको मंगलवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले कार्यक्रमको उद्घाटन गरेका हुन् । प्रशिक्षण कार्यक्रममा करिव २५ जना सहभागी छन् । प्रशिक्षण अवधिभर गण्डकी प्रदेश प्रशिक्षण बिभागका अध्यक्ष रि बहादुर राना मगरले सहजिकरण गर्ने छन् । सहभागीहरुलाई मगर समुदायको जन्मदेखि मृत्युसम्मको संस्कार सिकाइने समाजका सचिव दिनेश थापा मगरले बताए ।
समाजका जिल्ला अध्यक्ष मिनबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा समाजका गोरखा नगर अध्यक्ष होमबहादुर थापा मगर, नेपाल मगर संघका जिल्ला सचिव भरत आले मगर, नेपाल मगर संघका केन्द्रीय सदस्य एवं वडा नम्वर ५ का अध्यक्ष बिष्णु राना, वडा नम्वर ८ का अध्यक्ष ऋषिराम खत्री, गोरखा नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख बिजयभक्त उपाध्याय लगायतले मन्तव्य राखेका थिए ।




