
समयमै काम सुरु गरे भेलबाढीमा विकास बग्दैन
यत्तिका हिउँदका दिन त्यत्तिकै बितिरहेका छन्, तर जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय गोरखाले चालु आर्थिक बर्षका आयोजनाहरु सञ्चालन गरेको छैन । आर्थिकबर्षको सात महिना बितिसक्दासमेत उपभोक्ता समितिले गर्ने कुनै पनि योजनाहरुको सम्झौता भएका छैनन् ।
कतिपय योजनाहरुको ‘साइट भिजिट’ समेत हुन बाँकी छन् । शहिद लखन गाउँपालिका–६ खल्लुखोला तटबन्धन योजना, गोरखा नगरपालिका–१ ज्यादुल सोती चालिसे गौडे अम्बोटेफाँट एकीकृत सिंचाई योजना र भीमसेन थापा गाउँपालिका–४ धारापानी पाँचथर टारी गैरीखेत सिंचाई योजनाको साइट भिजिट गर्न बाँकी छन् ।
लगत स्टमेट गरिएका छन्, बजेट बिनियोजन पनि भएका छन् । तर योजना सम्झौता हुन नसक्दा कार्यान्वयनको दिशामा अघि बढेका छैनन् । योजना सम्झौतामा कार्यालयको ढिलाइले गर्दा योजना कार्यान्वयनमा समस्या भएको छ । सम्झौतामा केही ढिलाइ भएको कार्यालयले स्वयं स्वीकार गर्छ । समिति गठनमा बिरोध नहोस्, सहज रुपमा, सर्वसम्मत ढंगले समिति बनोस् भनेर दर्ता नभएकालाई दर्ता गर्न र दर्ता भएर पनि नविकरण नभएकालाई नविकरण गरेपछि मात्र सम्झौता गर्ने भनेर केही समय कुरेको कार्यालय बताउँछ ।
उत्तर जे दिए पनि योजना कार्यान्वयनको चरणमा जान ढिलो भएकै हो । एक दुई महिनामा सबै काम सिद्धिन्छ भन्ने लागेको यदि छ भने, हतपतमा गरेको काम गुणस्तरको हुँदैन । उखानै छ, हतपतमा गरेको काम लतपत । बिगतले यस्तै देखाएको छ ।
जब जेठ असार लाग्छ, तब खेतबारीको काममा किसान, कामदार व्यस्त हुन्छन् । बर्सात पनि हुन थाल्छ । यति बेला काम थाल्दा गुणस्तरीय कामको परिकल्पना पनि गर्न सकिँदैन ।
तसथै बेलैमा काम सुरु गरौँ, बेलैमा सम्पन्न गरौँ ।




