
पशुधन गुमाउने किसानलाई राहतमा बिलम्ब नगरौँ
डिभिजनल वन कार्यालय गोरखाले वन्यजन्तुबाट घरपालुवा पशुधन क्षति गरिएका किसानहरुलाई हालसालै राहत रकम वितरण गरेको छ । दुईबर्ष अघिदेखि माग दाबी गर्दै आएका किसानहरुलाई कार्यालयले भर्खरै मात्र राहत रकम वितरण गरेको हो ।
वन्यजन्तुबाट घरपालुवा पशुचौपाया गुमाएका किसानलाई राहत रकम दिने कार्यक्रम केहीबर्ष अघिदेखि मात्र सुरु भएको हो ।
जंगली जनावरबाट घरपालुवा जनावर गुमाउनु पर्दा किसानहरु जंगली जनावरसंग आक्रोशित हुने, आक्रमण गर्ने, मार्ने तथा खेद्ने गर्दथे । जंगली जनावरले यो क्षति ब्यहोर्नु नपरोस् भनेर सरकारले यो कार्यक्रम ल्याएको हो । यसले पशु अधिकार संरक्षण हुने पक्का छ तर, कार्यक्रमको सुरुवाती चरणमा नै किसानहरुलाई राहत दिन ढिलाइ गर्दा किसान वाक्क दिक्क भएका छन् ।
यसबर्ष पनि पशुचौपाया गुमाएका किसानहरुले निर्धारित प्रक्रिया पूरा गरी राहत माग दाबी गरिरहेका छन् । तर सरकारले तत्काल राहत रकम दिन नसक्दा किसानहरु गुनासो गर्दैछन् । विशेषगरी धार्चे, चुमनुब्रीतिर जंगली हिंस्रक जनावले घरपालुवा याक, चौँरी, भेँडाबाख्राहरु मार्ने, खाने गर्दछ । यसले गर्दा किसानहरु चिन्तित हुन्छन् । तर सरकारले अधिकत्तम १० हजार रुपैयाँसम्म दिन पनि आनाकानी गरिरहेको छ ।
जसरी आज बिरामी, भोलि उपचारको अर्थ, औचित्य छैन, त्यसैगरी दुईबर्षअघि माग गरेको राहत रकम दुईबर्षपछि दिएर त्यसको महत्व र त्यसको आवश्यकता, अर्थमा प्रश्नचिन्ह सिर्जना हुन्छ । विदेशिने क्रम बढेसंगै अहिले गाउँबस्तीका उर्वर खेतबारी बाँझो भइसक्यो । बाँझो मात्र होइन, जंगल भइसकेको छ ।
अनि त्यहाँ जंगली जनावर बस्ने अनुकूल ठाउँ बनेको छ । यसरी घरपालुवा जनावर जंगली जनावरको शिकार बन्ने क्रम बढिरहेको छ । यो अबस्थामा सरकारले पिडित किसानको माग यथासमयमा नै उपलब्ध गराउनु पर्दछ ।




