| सोमवार, कार्तिक २३, २०८३

जुवामय बनाएर तातोपानी मेला नामेट पार्ने तत्वप्रति खबरदारी गरौँ

मनोरञ्जनका अन्य माध्यमहरुको विकास भएसंगै धेरै मेला, जात्राहरु लोप भइसके । बचेका मेला, जात्राहरुमध्य धार्चे गाउँपालिका ३ खोर्लावेशीमा हुने तातोपानी मेला शीर्ष मेला हो ।मेला, जात्राको मौलिक इतिहास, आफ्नै सांस्कृतिक महत्व हुन्छ, पहिचान हुन्छ । त्यसैले मेला, जात्रा तत् स्थानको पहिचान पनि हो, शान, गरिमा पनि हो ।

मेला, जात्रामा जे पाइन्छ, मेला जात्रामा जे हुन्छ त्यो महोत्सवमा पाइँदैन, किनभने महोत्सवको ऐतिहासिक जरो धेरै लामो पनि छैन, महोत्सवमा कुनै मौलिकता, कुनै स्थान, समुदाय, संस्कार र संस्कृतिको सुगन्ध पनि भेटिँदैन । आरम्भको लोकोक्ति बोकेको तातोपानी मेलाको ऐतिहासिक आहान रोचक छ ।

त्यसैले यसमा त्यस भेगको पहिचानको बलियो गाँठो अनुबन्धित छ । मेलामा हुने स्थानीय उत्पादनको व्यापार, मितिनी लगाउने परम्परा, लोकगीत, लोकनाचले त्यस भेगको प्रतिष्ठान र गरिमा बढाएको छ । त्यसैले तातोपानी मेलालाई सो भेगका बासिन्दाले गरिमाका रुपमा लिने गर्छन् । आफ्नो अगुवा नेताहरु निम्त्याएर हर्षोल्लासका साथ मनाउने गर्दछन् ।

तर चन्द्रमामा दाग झैँ यस मेलामा पनि केही कालो पक्ष छ । कालो पक्षलाई बढवा दिएर चन्द्र रोशनीलाई मेटाउने दुश्प्रयास पनि केही तत्वहरुबाट हुने गरेको छ । मेलालाई अत्याधिक जुवामय बनाएर बद्नाम गराउने, कानूनले बर्जित गरेको गतिविधि गरेर मेलामा प्रहरी, प्रशासनको हस्ताक्षेप निम्त्याउने तत्वहरुको बिगबिगी बढिरहेको छ ।

कानूनी रुपमा बर्जित गरेको क्रियाकलापलाई निषेध गर्नु प्रहरी प्रशासनको दायित्व हो । हुनसक्छ, कमजोर प्रहरी, प्रशासन भएका बेला त्यसमा निर्मम कदम चाल्न सक्दैन । तर सँधै प्रहरी प्रशासन चुप लागेर बस्दैन । यस्ता गैरकानूनी हर्कत बन्द गर्न निर्मम बनेका बेला मेलाको अस्तित्व नै जोखिममा पर्न सक्छ । त्यसैले सचेत बनौँ, मेलामा गैरकानूनी हर्कत गर्न बन्द गरौँ, प्रहरी प्रशासनको हस्ताक्षेप निम्तन नदिऔँ ।

प्रतिक्रिया दिनुहोस्